काठमाडौँ। साताको पहिलो दिन सोमबार पनि धितोपत्र बजार (नेप्से) मा दोहोरो अङ्कको ठुलो गिरावट देखिएको छ। रसुवा लगायतका क्षेत्रमा बाढी र पहिरोका कारण जनजीवन प्रभावित भइरहँदा त्यसको प्रत्यक्ष तथा अप्रत्यक्ष असर लगानीकर्ताको मनोबलमा पनि देखिएको हो।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज परिसूचक ४७.२९ अङ्क अर्थात् १.८४ प्रतिशतले घटेर २५१०.०१ विन्दुमा ओर्लिएको छ। बजार खुलेदेखि नै ओरालो लागेको नेप्से अन्तिम समयसम्म सम्हालिन सकेन।आज दिनभरको कारोबारबाट ९० लाख ६५ हजार कित्ता सेयर किनबेच भएको छ। जसबाट कुल ३ अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।आजको कारोबारमा सहभागी कम्पनीहरूमध्ये जम्मा १३ कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने २६३ कम्पनीको मूल्यमा गिरावट आएको छ। २ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।
आज बजारमा घोराही सिमेन्टको मूल्य ७.५७ प्रतिशत बढ्नुबाहेक अन्य कम्पनीमा उल्लेख्य वृद्धि देखिएको छैन । तर, ३५ कम्पनीको मूल्य ५ प्रतिशत भन्दा धेरैले घटको छ । सबैभन्दा धेरै गिरावट मिक्लाजुङ, चिलिमे, रसुवागढी हाइड्रोपावर लगायतमा देखिएको छ ।
रकमका आधारमा शिवम सिमेन्टको सबैभन्दा धेरै २६ करोड ८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यसैगरी सर्वोत्तम पेन्टस् र चिलिमे हाइड्रोपावर पनि सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा परेका छन्।
आज सबैभन्दा ठुलो गिरावट निर्जीवन बीमा कम्पनी समूहमा परेको छ । यो समूहको सूचक ५.०३ प्रतिशतले घटेको छ । त्यस्तै, अन्य समूहमा ३.३० प्रतिशत, होटलमा २.९४ प्रतिशत एवं होटल तथा टुरिजम क्षेत्रमा २.४४ प्रतिशत मूल्य घटेको छ ।
प्राकृतिक विपत्तिले जलविद्युत आयोजनाहरूमा पुर्याएको क्षति र सडक सञ्जाल अवरुद्ध हुँदा आपूर्ति व्यवस्थामा परेको प्रभावले गर्दा बजारमा जलविद्युत लगायतका अन्य क्षेत्रका सेयरहरूमा पनि नकारात्मक प्रभाव देखिएको विश्लेषण गरिएको छ।







