Surya Pokhrel
Founder, First Deal Nepal
नेपालमा व्यवसायको सम्भावना छैन भन्नु त गफ मात्रै हो। हाइड्रो, पर्यटन, कृषि, आईटी—सबैतिर सम्भावना नै सम्भावना छ। हामीसँग प्राकृतिक स्रोत छ, युवा जनशक्ति छ, बजार पनि बढ्दो छ। तर एउटा कुरा बुझ्न जरुरी छ: ‘हामीसँग सम्भावना छ’ भन्नु र ‘विदेशी लगानीकर्ताले पैसा खन्याउने परियोजना हुनु’ फरक कुरा हुन्। मैले बजारमा देखिरहेको मुख्य समस्या के हो भने, हामीसँग अवसरको कमी होइन, त्यो अवसरलाई विदेशीले बुझ्ने भाषा र ढाँचामा प्रस्तुत गर्न नसक्नु चाहिँ हो।
प्रायः नेपाली स्टार्टअप वा परियोजना प्रवर्द्धकहरू विदेशी लगानीकर्तालाई भेट्ने बित्तिकै एउटै कुरामा ठोक्किन्छन्—”तपाईं कति पैसा लगानी गर्न सक्नुहुन्छ?” पैसाको कुरा आउनु स्वाभाविक हो, तर लगानीकर्ताले सुरुमै हेर्ने चिज पैसा होइन। उसले त मेरो पूँजी कहाँ जाँदैछ, कम्पनी कसरी चल्छ, जोखिम कति छ, र भोलि नाफा कमाएर बाहिरिने (Exit) बाटो के हो भन्ने सफा चित्र खोजिरहेको हुन्छ। त्यसैले लगानी माग्नुभन्दा पहिला आफ्नो परियोजनालाई लगानीयोग्य (Investable) बनाउनुपर्छ।
हाम्रोतिर एउटा रोग नै छ—पर्याप्त तयारी नगरी लगानी खोज्न निस्किने। कतिको कानुनी डकुमेन्ट पुग्दैन, कतिको वित्तीय योजना (Financial Projection) हावा तालमा अत्यधिक आशावादी हुन्छ, त कतिको कम्पनीको भ्यालुएसन (Evaluation) को कुनै यथार्थपरक आधार नै हुँदैन। प्रवर्द्धकलाई आफ्नो आइडिया संसारकै उत्कृष्ट लाग्न सक्छ, तर विदेशी लगानीकर्ताले भावनामा बगेर पैसा हाल्दैन। उसले बजारको तथ्याङ्क, व्यवस्थापनको क्षमता र रिस्क फ्याक्टर हेर्छ। आइडिया गज्जब भएर पनि नेपालका धेरै प्रोजेक्ट फेल हुनुको मुख्य कारण यही हो।
यसको मतलब नेपालमा विदेशीको रुचि नै छैन भन्ने होइन। राष्ट्र बैंक र उद्योग विभागकै डेटा हेर्ने हो भने पनि आर्थिक वर्ष २०८२/८३ मा मात्रै ५८ अर्ब १ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (FDI) स्वीकृत भएको छ। उद्योग विभागमा हजारौँ विदेशी लगानीका उद्योग दर्ता छन्। यसले के देखाउँछ भने विदेशीले नेपाललाई हेर्दै नहेरेका होइनन्, प्रश्न त हामी विदेशी पूँजी पचाउन र त्यसलाई सहि ठाउँमा सदुपयोग गर्न कत्तिको तयार छौँ भन्ने हो।
विदेशीका लागि सबैभन्दा महत्वपूर्ण कुरा बजारको आकार (Market Size) हो। “मेरो प्रोजेक्टले राम्रो रिटर्न दिन्छ” भनेर मात्र पुग्दैन। तपाईंका ग्राहक को हुन्? बजार कति ठूलो छ र यो कसरी बढ्दैछ? प्रतिस्पर्धी को-को हुन् र तपाईं उनीहरूभन्दा कसरी फरक हुनुहुन्छ? यी प्रश्नको प्रस्ट उत्तर चाहिन्छ। उदाहरणका लागि, पर्यटन क्षेत्रमा कुनै राम्रो ठाउँमा होटल खोल्ने आइडिया हुनु मात्रै लगानीको प्रस्ताव बन्दैन। त्यहाँ कस्ता पर्यटक आउँछन्, उनीहरूको खर्च गर्ने क्षमता के हो, र अरू होटल छोडेर तपाईं कहाँ किन आउने? यो खुलाउनुपर्छ। कृषिमा पनि ‘म यति उत्पादन गर्छु’ भनेर मात्र हुन्न। त्यो सामान कसले किन्छ, प्रोसेसिङ कसरी हुन्छ, र अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने च्यानल के हो भन्ने कुरा अझ बढी महत्वपूर्ण हुन्छ।
त्यसपछि आउँछ कानुनी स्पष्टता (Legal Clarity)। कमजोर कानुनी जग वा अस्पष्ट स्वामित्व भएको प्रोजेक्टमा कसले पैसा हाल्छ? कम्पनीको सेयर स्ट्रक्चर, आवश्यक सरकारी अनुमति, जग्गाको लफडा र नियमनकारी प्रक्रिया एकदमै ऐना जस्तै सफा हुनुपर्छ। उद्योग विभागको नियम हेर्नुभयो भने पनि प्रोजेक्ट रिपोर्ट, स्थानीय साझेदारको विवरण र वित्तीय विश्वसनीयताका कागजपत्र अनिवार्य गरिएको छ। यो केवल औपचारिकता मात्र होइन, लगानी प्रक्रियाको मूल जग हो।
अर्को मुख्य पाटो भनेको म्यानेजमेन्ट टिम हो। आइडिया जतिसुकै राम्रो भए पनि त्यसलाई भुइँमा उतार्ने त मान्छेले नै हो। त्यसैले विदेशीले प्रोजेक्टसँगै त्यसलाई हाँक्ने टिमको अनुभव, क्षमता र इमानदारिता हेर्छ। वास्तवमा लगानीकर्ताले व्यवसायमा मात्र होइन, त्यो व्यवसाय चलाउने मान्छेमाथि लगानी गरिरहेको हुन्छ। अनुभवी र जिम्मेवार टिम छ भने प्रोजेक्टको विश्वसनीयता आफैँ बढेर जान्छ।
वित्तीय अनुमान (Financials) र मूल्यांकन (Valuation) को कुरा गर्दा, हाम्रा प्रवर्द्धकहरू आफूलाई चाहिने रकम र आफैँले तोकेको कम्पनीको मूल्यलाई मात्रै जोड दिन्छन्। तर भ्यालुएसन कसैको रहरले हुन्न। कम्पनीको आम्दानी, नाफा, सम्पत्ति र क्यास फ्लो (Cash Flow) का आधारमा त्यसलाई प्रमाणित गर्नुपर्छ। वित्तीय मोडेल यथार्थपरक हुनुपर्छ, जसले जोखिम र प्रतिफल दुवैलाई स्पष्ट देखाओस्।
नेपालमा विदेशी लगानी भित्र्याउँदा सबैभन्दा बढी ध्यान दिनुपर्ने तर छुटिरहेको विषय हो—लगानी सुरक्षा र एक्जिट स्ट्रेटेजी (Exit Strategy)। लगानीकर्ताले “मैले कति कमाउँछु” मात्र सोच्दैन, “मेरो सावाँ कसरी सुरक्षित रहन्छ र भोलि म यो विजनेसबाट कसरी निस्किन सक्छु” भनेर पनि हेर्छ। हाम्रो कानुनले नाफा, लाभांश वा सेयर बिक्रीको रकम फिर्ता लैजान पाउने व्यवस्था त गरेको छ र पछिल्लो समय केही प्रक्रिया सहज पनि भएका छन्, तर कानुनमा लेखिनु र व्यवहारमा त्यो कत्तिको झन्झटरहित र सहज छ भन्ने कुरा लगानीकर्ताका लागि अर्थपूर्ण हुन्छ।
हाम्रो प्रणालीमा केही संरचनागत गाह्रासाँघुहरू पक्कै छन्। नीति नियम छिटो-छिटो परिवर्तन भइरहनु, प्रशासनिक ढिलासुस्ती, सरकारी निकायहरूबीच समन्वय नहुनु र पारदर्शिताको कमीले लगानीकर्ता हच्किन्छन्। विश्व बैंक लगायतका संस्थाले पनि नेपालको व्यवसायिक वातावरण, विदेशी विनिमय (Foreign Exchange) र आउने-जाने प्रक्रियालाई थप सरल बनाउन सुझाव दिँदै आएका छन्। तर, सबै दोष सरकारलाई मात्र दिएर पानीमाथिको ओभानो बन्न मिल्दैन। प्रवर्द्धकले आफ्नो नियन्त्रणमा भएका धेरै कुराहरू आजैबाट सुधार गर्न सक्छन्।
त्यसैले, विदेशी लगानीकर्ताको ढोका ढकढक्याउनु अघि स्पष्ट बिजनेस प्लान, बजारको विश्वसनीय तथ्याङ्क, कानुनी कागजात, सक्षम टिम र रिस्क एसेसमेन्ट तयार पार्नैपर्छ। लगानीको पैसा कहाँ-कहाँ खर्च हुन्छ, लगानीकर्ताको अधिकार के हुन्छ र भोलि उनीहरू बाहिरिने बाटो के हो भन्ने कुरा पानी प्रस्ट हुनुपर्छ। यसले लगानीको ग्यारेन्टी त गर्दैन, तर लगानीकर्तासँगको छलफललाई एउटा परिपक्व र फरक स्तरमा पुर्याउँछ।
हामीले वैदेशिक लगानीलाई केवल ‘पैसा’ को रूपमा मात्र हेर्नु साँघुरो सोच हो। सही विदेशी साझेदारले पैसा मात्र ल्याउँदैन; उसले नयाँ प्रविधि, अन्तर्राष्ट्रिय बजारको पहुँच, वितरण प्रणाली, व्यवस्थापनको सीप र ग्लोबल नेटवर्क पनि सँगै लिएर आउँछ। उदाहरणका लागि, एउटा एग्रो-प्रोसेसिङ उद्योगलाई फ्याक्ट्री खोल्न पैसा त चाहिएला, तर अन्तर्राष्ट्रिय बजार छिर्न प्रविधि, क्वालिटी कन्ट्रोल र विदेशी क्रेताको नेटवर्क अझ बढी चाहिन्छ। पर्यटनमा पनि भवन ठड्याउन पूँजी मात्र होइन, अन्तर्राष्ट्रिय ब्रान्ड र ग्लोबल कस्टमर सम्मको पहुँच महत्वपूर्ण हुन्छ। त्यसैले हामीले “कति FDI आयो?” भनेर मात्र होइन, “त्यो FDI ले नेपालमा कस्तो नयाँ क्षमता भित्र्यायो?” भनेर सोच्नुपर्ने बेला भएको छ।
अन्ततः, नेपाली परियोजनाहरूले आफ्नो सोच बदल्नैपर्छ। लगानीकर्ता खोज्नु भनेको पैसा माग्नु मात्र होइन, आफ्नो व्यवसायलाई तेस्रो व्यक्तिको दृष्टिकोणबाट निर्मम समीक्षा गर्नु पनि हो। तपाईंले “मेरो प्रोजेक्टमा किन लगानी गर्ने?” भन्ने प्रश्नको उत्तर मात्र होइन, “लगानीकर्ताको पैसा कसरी सुरक्षित हुन्छ, कसरी नाफा निस्किन्छ र उनीहरू कसरी सुरक्षित रूपमा बाहिरिन सक्छन्?” भन्ने प्रश्नको पनि प्रस्ट जवाफ दिन सक्नुपर्छ।
नेपालमा प्राकृतिक स्रोत छ, जोस भएका उद्यमी छन् र सम्भावनाका प्रचुर क्षेत्रहरू छन्। अबको मुख्य चुनौती ती सम्भावनालाई विदेशीले बुझ्न र विश्वास गर्न सक्ने बलियो परियोजनामा बदल्नु हो। विदेशी लगानीकर्ताले नेपालमा पैसा मात्रै खोजेका होइनन्; उनीहरू त विश्वासिलो परियोजना, सक्षम पार्टनर, स्पष्ट संरचना र सुरक्षित व्यावसायिक वातावरण खोजिरहेका छन्। त्यसैले हाम्रो बहस पूँजी कसरी ल्याउने भन्नेमा मात्र सीमित नभएर, हाम्रा परियोजनाहरूलाई विदेशी पूँजीका लागि कसरी तयार (Ready) बनाउने भन्नेतर्फ मोडिनुपर्छ। नेपालको लगानीको भविष्य यसैमा निर्भर छ।







