काठमाडौँ। परराष्ट्र मन्त्रालयले बाढी तथा विपद् व्यवस्थापनका लागि विभिन्न मित्रराष्ट्रबाट अन्तर्राष्ट्रिय प्राविधिक सहयोग प्राप्त भएको जनाएको छ ।
मङ्गलबार परराष्ट्र मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले खोज तथा टनेल उद्धारका साथै डीएनए पहिचानका क्षेत्रमा अन्तर्राष्ट्रिय प्राविधिक सहयोग प्राप्त भएको जानकारी दिए ।
उनका अनुसार भारतबाट आएको २४ सदस्यीय टनेल उद्धार टोली नेपाली सेनासँग समन्वय गरी चिलिमे र लाङटाङ जलविद्युत् आयोजना क्षेत्रमा परिचालन गरिएको छ । चीनबाट आएको ९ सदस्यीय टनेल उद्धार टोली नेपाली सेनासँग समन्वय गरी माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजना क्षेत्रमा खटिएको छ ।
तत्काल पहिचान हुन नसकेका शवहरूको डीएनए नमुना सुरक्षित राखी अन्तर्राष्ट्रिय मापदण्डअनुसार अस्थायी रूपमा गाडिएको मन्त्रालयले जनाएको छ ।
प्रवक्ता पौडेलले विपद्बाट भएको क्षतिको मूल्याङ्कन गरी ‘विपद्पछिको आवश्यकता मूल्याङ्कन’ तयार गरिने बताए । सोही मूल्याङ्कनका आधारमा दीर्घकालीन अन्तर्राष्ट्रिय सहयोगका लागि आह्वान गरिने उनको भनाइ छ ।







