काठमाडौँ। गत भदौ १० गते नेपाल–चीन सीमा नजिक गएको हिमपहिरो र त्यसपछि भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको छ।
बाढीका कारण रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–१, हाकु क्षेत्र र उत्तरगया गाउँपालिका–१ मा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा समेत ठूलो क्षति पुगेको छ। आयोजनाको प्रवर्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रा.लि.ले जारी गरेको प्रेस विज्ञप्तिअनुसार बाढीले आयोजनाको निर्माण सम्पन्न हुन लागेको बाँध (हेडवक्र्स), संरचना, कार्यालय र आवास क्षेत्र पूर्ण रूपमा बगाएको छ। पूर्वसूचना जारी गरिए पनि अत्यन्त छोटो समयमा ठूलो बाढी र लेदो आयोजनास्थलमा प्रवेश गरेकाले निर्माणस्थल तथा कार्यालयमा कार्यरत अधिकांश कर्मचारी र श्रमिक सुरक्षित स्थानतर्फ जान सकेका थिएनन्। प्रत्यक्ष वैदेशिक लगानीमा निर्माणाधीन यस आयोजनामा प्रवर्धक कम्पनी, परामर्शदाता र ठेकेदार कम्पनीका नेपाली, कोरियाली, चिनियाँ, भारतीय तथा अन्य मुलुकका गरी करिब १ हजार ४ सय ३३ जना जनशक्ति खटिएका थिए। बाढीपछि हालसम्म ८ सय ७६ जनाको उद्धार गरिएको छ भने ५ सय ५७ जना अझै सम्पर्कविहीन छन्।
सम्पर्कविहीन रहेकामध्ये करिब १ सय १५ जना हेडवक्र्स क्षेत्र तथा मुख्य सुरुङभित्र फसेको आशंका गरिएको छ। कम्पनीका अनुसार प्रवर्धक कम्पनीका १५ जना, जेड कन्सल्टका ७ जना, मुख्य निर्माण ठेकेदार डुसानका ५६ जना, पावर चाइनाका ३ सय ८५ जना र एन्ड्रिज हाइड्रोका ९४ जना कर्मचारी सम्पर्कविहीन छन्। विकट भौगोलिक अवस्था, लेदोको बाक्लो तह, सुरुङभित्रको जोखिम र प्रतिकूल मौसमका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको छ।
खोज तथा उद्धारका लागि कम्पनीले सरकारका निकायहरूसँगको समन्वयमा कोरिया र चीनबाट विज्ञ तथा अत्याधुनिक उपकरणसहितको टोली आयोजनास्थलमा परिचालन गरेको छ। नेपाली सेना, सुरक्षा निकाय, नेपाल माउन्टेन रेस्क्यू एसोसिएसन र अन्य विशेष टोलीहरूले ड्रोन, म्यान्ट्रेलिङ र एयर–स्क्यानिङ प्रविधिको प्रयोग गर्दै स्थल तथा हवाई माध्यमबाट खोजी कार्य निरन्तर जारी राखेका छन्।
सुरुङ तथा हेडवक्र्स क्षेत्रबाट पानी र लेदो हटाउन पम्प र जेनेरेटरहरू पठाइएको छ। कम्पनीले बेपत्ता व्यक्तिका परिवारसँग नियमित सम्पर्क राख्दै परामर्श उपलब्ध गराएको छ र सरकारको ‘वार रुम’ बैठकमा सहभागी भई उद्धार कार्यलाई तीव्रता दिएको छ।
हालसम्म भएका खोजी तथा उद्धारका प्रमुख प्रयास :
- भदौ १० गते : त्रिशूलीको माथिल्लो तटीय क्षेत्रमा क्षेत्रमा बाढी आएको सूचना प्राप्त हुनासाथ रसुवा सदरमुकाम धुन्चेमा रहनुभएका कम्पनीका प्रबन्धकले बिहान ८.५७ बजे आयोजनाका कर्मचारीलाई पूर्वसूचना दिइएको । त्यसपछि आयोजनाकातर्फबाट पूर्वसूचना दिइएको तर तत्कालै बाढी आयोजनास्थलमा आइहालेकाले सुरक्षितस्थानतर्फ जान कठिनाइ भएको । त्यसपश्चात धुन्चेस्थित आयोजनाका दुई जना कर्मचारीलाई जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायसँग आवश्यक समन्वय गर्न खटाइएको । कम्पनीका प्रबन्धक, प्रमुख वित्त अधिकृतलगायतका कर्मचारीलाई नुवाकोट सदरमुकाम विदुरमा आवश्यक समन्वयका लागि परिचालन गरिएको सबैले निरन्तर रूपमा तोकिएको जिम्मेवारी निर्वाह गर्दै आएको । बाढीबाट जोगिन सुरक्षित स्थानतर्फ, जंगल क्षेत्रमा पुगेका आयोजनासँग सम्बन्धित व्यक्तिहरूको खोजी तथा उद्धारमा सुरक्षा निकायसँग समन्वय गरिएकोसो क्रममा तीन जनालाई सकुशल उद्धार गरी परिवारको जिम्मा लगाइएको । सोही दिन कम्पनीका प्रबन्ध–निर्देशकसहितको टोलीले आयोजनाको भूमिगत विद्युतगृह जाने पहुँच सुरुङ नजिकको क्षेत्रको हेलिकोप्टरबाट ल्याण्ड तथा रेकी गरिएको । सो क्रममा विद्युतगृहभित्र ठूलो सङ्ख्यामा श्रमिकहरू फसेको हुन सक्ने अवस्था पहिचान गरिएको र उनीहरुको तत्काल उद्धारका लागि सम्बन्धित निकायमा खबर गरिएको ।
- भदौ ११ गते : बाढीमा परी हराएका हरुको हेलिकोप्टरमार्फत आयोजनास्थल तथा आसपासका क्षेत्रमा दुई पटक हवाई निरीक्षण गरि खोजिएको ।
- भदौ १२ गते : राहत सामग्रीसहित हेलिकोप्टरमार्फत आयोजनाको माथिल्लो क्षेत्रमा खोजी तथा उद्धार कार्य सञ्चालन गरिएको । सो क्रममा डाँडागाउँ प्रहरी चौकी नजिक घाइते अवस्थामा फेला परेका आयोजनाको सब–कन्ट्रयाक्टर कम्पनीमा कार्यरत एक जना भारतीय नागरिकको उद्धार गरी सम्बन्धित कम्पनी एन्ड्रिज हाइड्रोको जिम्मा लगाइएको ।
- भदौ १३ गते : खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सिम्रिक सेक्युरिटी गोर्खा फोर्सलाई परिचालन गरिएको थियो। फोर्सका पाँच जना तथा चार जना स्थानीयसहितको टोलीले आयोजनास्थलभन्दा माथिल्लो क्षेत्रमा पर्ने ग्राङदेखि मैलुङसम्म पैदल खोजी कार्य सञ्चालन गरिरहेको । खोजीका क्रममा टोलीले सो क्षेत्रमा एउटा शव देखेको भए पनि अत्याधिक लेदोका कारण उक्त स्थानसम्म पुग्न नसकिएको । हालसम्म उक्त क्षेत्रमा अन्य व्यक्तिको अवस्था पत्ता लाग्न सकेको छैन । यसैबीच, कोरियाली तथा नेपाली प्राविधिक सम्मिलित टोलीले जंगल र नदि तटिय क्षेत्रमा ड्रोनमार्फत समेत खोजी तथा सर्वेक्षण गरिरहेको ।
- भदौ १४ गते : नेपाल माउन्टेन रेस्क्यू एसोसिएसनसँग खोजी तथा उद्धार कार्यका लागि सम्झौता गरी टोलीलाई फिल्डमा परिचालन गर्न धुन्चे पठाइएको । तर, सम्बन्धित निकायबाट आवश्यक अनुमति प्राप्त हुन नसकेपछि उक्त टोली फर्किएको ।
- भदौ १५ गते : गृह मन्त्रालय, नेपाली सेना तथा सम्बन्धित सुरक्षा निकायसँग समन्वय गरी दुईवटा हेलिकोप्टरमार्फत आयोजनाको हेडवक्र्स क्षेत्रमा खोजी गरिएको । सुरक्षा निकाय तथा नेपाल माउन्टेन रेस्क्यू एसोसिएसनको टोलीले संयुक्त रूपमा एडिट–१ तथा डिसेन्डर क्षेत्रमा खोजी गरेको । हेडवक्र्स क्षेत्रमा बेपत्ता व्यक्तिहरूको खोजीका लागि नेपाली सेना तथा चिनियाँ विज्ञहरूको टोलीसमेत परिचालित भएको । बाढीका कारण हेडवक्र्स क्षेत्र पूर्ण रूपमा लेदोले भरिएको तथा त्यहाँ रहेका उपकरणहरू सञ्चालन गर्न सकिने अवस्थामा नरहेको पाइएको । त्रिशूली नदीको दायाँ तथा बायाँ किनारामा समेत खोजी गरिएको भए पनि हालसम्म थप व्यक्ति फेला पर्न सकेका नसकेको । नेपाल माउन्टेन रेस्क्यू एसोसिएसनको टोलीले उक्त क्षेत्रमा खोजी कार्यलाई निरन्तरता दिइरहेको ।
- भदौ १६ गते : खोजी तथा उद्धार कार्यलाई थप तीव्रता दिन टीएएन कम्पनीलाई परिचालन गरी ग्राङ, मैलुङलगायतका सम्भावित क्षेत्रमा खोजी कार्य सञ्चालन गरिएको । नौ जना शेर्पा सम्मिलित विशेष टोलीसमेत खोजीमा परिचालन गरिएको । तालिमप्राप्त कुकुर एवम् उपकरणसहितको थप टोली पोखराबाट रसुवा पठाइएको । उक्त टोलीले म्यान्ट्रेलिङ तथा एयर–स्क्यानिङ प्रविधिको प्रयोग गरी सम्भावित क्षेत्रमा खोजी गरिहेको । स्थल तथा हवाई माध्यमबाट भइरहेको खोजीलाई एकीकृत गरी सम्भावित सबै क्षेत्रमा व्यवस्थित रूपमा खोजी गर्ने तयारी गरिएको । उद्धार कार्यमा सहयोग पुर्याउन ६.५ एचपी क्षमताका पम्प तथा जेनेरेटर समेत हेडवक्र्स क्षेत्रमा पठाइएको । बाढी तथा लेदोका कारण जम्मा भएको पानी हटाउन तथा सुरुङ तथा अन्य सम्भावित स्थानमा उद्धार कार्य सञ्चालन गर्न ती उपकरण प्रयोगमा ल्याइने ।







