काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले रसुवा बाढीमा सरकार सामाजिक सञ्जालमा अल्झिएर जोखिममा परेका समुदाय माझ पुग्न नसकेको भन्दै आलोचना गरेको छ ।
प्रतिनिधिसभाको बुधबारको बैठकलाई सम्बोधन गर्ने क्रममा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले रसुवा बाढीमा सरकार सामाजिक सञ्जालमा अल्झिएर प्रभावितसम्म पुग्न नसकेको भन्दै आलोचना गरेका हुन् ।
‘स्थलगत अवलोकन र उद्धारको पर्खाइमा पीडित परिवारका क्रन्दन सुनेपछि आज यो सदनमा भन्न बाध्य भएको छु– सरकार सामाजिक सञ्जालमा अल्झियो, जोखिम समुदायमा समयमा पुगेन,’ उनले भने, ‘सरकार परिणाम दिन र प्राण जोगाउनभन्दा प्रचार मिलाउन लाग्यो । फिल्डमा भन्दा फेसबुकमा धेरै भयो । हल्लामा लाग्यो ।’
नेता आङ्देम्बेले २०७२ सालको विनाशकारी भूकम्पको समयमा तत्कालीन सरकारले अन्तर्राष्ट्रिय प्राविधिक सहयोगका लागि तुरुन्तै पहल गरेको स्मरण गराए । तत्कालीन सरकारको पहलका कारण १२ घण्टामै विदेशी उद्धार तथा प्राविधिक टोलीहरू आउन सम्भव भएको पनि बताए ।
‘३४ देशका ७६ खोज तथा उद्धार टोली आएका थिए । हामीले त्यो अनुभवबाट धेरै कुरा सिक्न सक्थ्यौं,’ आङ्देम्बेले भने, ‘त्यो सरकार कांग्रेसको नेतृत्वमा थियो भन्दैमा सिक्न नहुने त पक्कै थिएन होला । सरकारले संसद्लाई यसको जवाफ दिनुपर्छ ।’
बाढीमा फसेका नागरिकबारे सरकारले स्थानीय सरकारसँग समन्वय नगरेको, सम्बन्धित जनविद्युत् आयोजना र निजी क्षेत्रलाई प्रभावित क्षेत्रमा जान नदिएको, इन्जिनियर, प्राविधिक तथा विषयविज्ञहरूका कुरा नसुनेको, आफूले ‘एक्सन’ नलिएको र अरुलाई गर्न नदिएको भन्दै उनले आपत्ति जनाए ।
‘अनि सात दिन बितिसकेपछि हात उठाएर सरकारले भन्ने– सुरुङमा आफै खोज,’ नेता आङ्देम्बेले प्रश्न गरे, ‘यो कस्तो संवेदनशीलता र जिम्मेवारी हो रु यो असंवेदनशीलता त ढिलाइका कारण ती सुरुङभित्र भएको मृत्यु–मृत्यु हो कि हत्या सभामुख महोदय ?’
बारम्बार ध्यानाकर्षण गराउँदा पनि सरकार चुकेको भन्दै उनले सम्पूर्ण जिम्मा सरकारले लिनुपर्ने पनि बताए । नेता आङ्देम्बेले आफन्त खोजिरहेका परिवारलाई गालीगलौज, धम्की र अपशब्द प्रयोग भएको भन्दै आपत्ति जनाए ।
‘यो मैले भनेको होइन सभामुख महोदय, आफन्त खोजेका परिवारले भनेका थिए । तर, उनीहरूमाथि गालीगलौज, धम्की र अपशब्द प्रयोग भए,’ उनले प्रश्न गरे, ‘म सरकार र सत्तासिन साथीलाई सोध्न चाहन्छु- संकटमा परेको नागरिकको आवाज सुन्ने कि दबाउने रु नागरिकलाई आश्वस्त पार्ने कि थप आतंकित बनाउने ?’
सरकारलाई सहयोग चाहिएको ठाउँमा सहयोग र खबरदारी चाहिने ठाउँमा खबरदारी गरिने नेता आङ्देम्बेले प्रष्ट्याए । ‘जहाँ नागरिकको जीवनको प्रश्न हुन्छ, त्यहाँ नेपाली कांग्रेस कुनै सम्झौता गर्दैन,’ उनले भने ।
नेता आङ्देम्बेले अहिलेको एउटै प्राथमिकता प्राण बचाउने, बेपत्ताको खोजी गर्ने, पीडितलाई राहत दिने, विस्थापितलाई सुरक्षित बनाउने र सँगसँगै पुनस्र्थापना र पुनर्निर्माणको काम अघि बढाउने भएको पनि बताए ।
‘किन कि यो प्रचार गर्ने समय होइन । प्राण बचाउने समय हो । यो दोषारोपण गर्ने समय होइन । जिम्मेवारी पूरा गर्ने समय हो,’ आङ्देम्बेले भने, ‘यो राजनीतिक संख्या खोज्ने समय होइन । राष्ट्र एक भएर नागरिकको जीवन जोगाउने समय हो ।’







