काठमाडौँ । बागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतीले सङ्घीय सरकारले प्रदेश सरकारलाई पर्याप्त अधिकार नदिएको आरोप लगाएका छन्।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले प्रदेश सरकार गठन भएको लामो समय बित्दा पनि सङ्घीय सरकारले अधिकार दिन कन्जुस्याइँ गरेको बताएका हुन्।मन्त्री प्रजापतीले कतिपय प्रदेशमा रहेका अधिकारलाई सङ्घीय सरकारले आफू मातहतमै लगेको आरोप लगाए। प्रदेश सरकारलाई सीमित अधिकारमा राखेर सङ्घीयता कार्यान्वयन हुन नसक्ने उल्लेख गर्दै उनले पर्याप्त अधिकार नदिए प्रदेश सरकार राखिरहनुको औचित्य नहुने स्पष्ट पारे। प्रदेश सरकारको भूमिका मुख्यतः बजेट विनियोजन, कर सङ्कलन तथा मन्दिर, सडक र खानेपानी जस्ता पूर्वाधार निर्माणमा मात्र सीमित पारिएको उनले बताए।पर्यटन क्षेत्रको सम्पूर्ण अधिकार सङ्घीय सरकारकै नियन्त्रणमा रहेको भन्दै उनले प्रदेशले वितरण गर्दै आएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रणालीमा पनि हस्तक्षेप भएको दाबी गरे। बागमती प्रदेशले सञ्चालन गर्दै आएको लाइसेन्ससम्बन्धी सफ्टवेयर व्यवस्थित रूपमा चलिरहेको अवस्थामा सङ्घीय सरकारले त्यसलाई खोसेर नयाँ प्रणाली लागू गर्दा गम्भीर समस्या देखिएको उनले बताए। नयाँ सफ्टवेयरमा भुक्तानी रकम, नाम र प्रदेशसमेत फरक देखिने जस्ता गम्भीर त्रुटि आएको उनको भनाइ छ।

उनले भने, ‘प्रदेशमा केही पनि अधिकार छैन। यहाँ मन्त्री भएर मैले सम्मान खाने अनि दुई शब्द बोल्ने मात्र भएको छ। पर्यटन क्षेत्रमा सम्पूर्ण अधिकार सङ्घले नै कब्जा गरेको छ, प्रदेशको ठाउँ नै छैन।’ उनले अधिकार नदिने हो भने प्रदेश संरचना किन राखिराख्ने भन्दै प्रश्न गरे।

लाइसेन्स सफ्टवेयरको त्रुटिबारे चर्चा गर्दै उनले थपे, ‘सङ्घीय सरकारले सफ्टवेयर सातै प्रदेशमा लैजाने क्रममा ठूलो समस्या आयो। ५० हजार तिरेकोमा ३० हजार देखाउने, राम भनेर फाराम भरेकोमा श्याम देखिने र गण्डकीको फाराम बागमतीमा देखिने सम्म भयो। निलो नम्बर प्लेटको सवारी धनीको नाममा समेत गैरसरकारी व्यक्तिको नाम आयो।’

यही विषयमा आफूले भौतिक पूर्वाधार विकासमन्त्रीलाई फोन गर्दा कुरा गर्न नमानेको र म्यासेज पठाउँदा पनि बेवास्ता गरेको गुनासो उनले गरे। जनताले तिरेको करबाट चलेको सरकारी सेवा नागरिकले सहज रूपमा पाउनुपर्नेमा उनीहरूलाई नै पीडा दिइएको उनको भनाइ छ।

साथै, उनले नेपालमा चलिआएका धर्म, संस्कृति, रहनसहन र परम्पराको जगेर्ना गर्नुपर्नेमा जोड दिए। पछिल्लो समय युवाहरू विदेशिने क्रम बढेसँगै मौलिक संस्कृतिसमेत मासिँदै जाने जोखिम बढेको भन्दै सनातनदेखि चलिआएका रीतिरिवाज र संस्कृति नेपालीको अमूल्य सम्पत्ति भएको उनले बताए।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय