काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकार ‘जेन्जी आन्दोलन’को वास्तविक भावना अनुसार नभई, त्यसलाई ‘हाइज्याक’ गर्नेहरूको योजना र प्रभावमा चलेको आरोप लगाएका छन्।

जेनजी आन्दाेलनकाे क्रममा ज्यान गुमाउने युवाहरूको सम्झनामा एक वक्तव्य जारी गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् । उक्त दुःखद घटनाको एक वर्ष पुगेको अवसरमा उनले ज्यान गुमाउने नवयुवाहरूप्रति श्रद्धाञ्जली र घाइते तथा पीडित परिवारप्रति पाेखरेलले समवेदना प्रकट गरेका छन् ।

महासचिव पोखरेलले आन्दोलनका क्रममा युवाहरूले उठाएका भ्रष्टाचार नियन्त्रण, सुशासन, सुलभ सेवा प्रवाह र सामाजिक सञ्जालको निर्बाध प्रयोगजस्ता मागहरू अत्यन्तै जायज र साझा सरोकारका विषय भएको उल्लेख गरेका छन् । सामाजिक सञ्जालको सन्दर्भमा तत्कालीन सरकारले प्रतिबन्ध नभई नियमनका लागि दर्ताको नीति अघि सारे पनि त्यसलाई स्पष्ट पार्न नसक्दा नयाँ पुस्ता सडकमा आउन पुगेको उनको विश्लेषण छ।

शान्तिपूर्ण प्रदर्शनलाई नियोजित रूपमा भड्काएर हिंसात्मक बनाउन ठुलो षड्यन्त्र भएको पोखरेलको दाबी छ। “शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ गर्ने र गराउने योजनाकार तथा षड्यन्त्रकारीहरूको पहिचान गरी उनीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउनु नै ‘जेन्जी आन्दोलन’को वास्तविक भावनाको सम्मान गर्नु हो,” उनले भने।

महासचिव पोखरेलले नेकपा (एमाले) सधैँ नवयुवाहरूको पक्षमा रहेको र आगामी दिनमा पनि रहने स्पष्ट पार्नुभएको छ। विगतमा युवाहरूको भावना र माग सम्बोधन गर्ने क्रममा केही कमजोरी भएको भए त्यसलाई सुधार गर्दै अघि बढ्न पार्टी प्रतिबद्ध रहेको उनले उल्लेख गरे।

देशमा सुशासनको प्रत्याभूति दिनु र विधिको शासन स्थापित गर्नु आजको प्रमुख आवश्यकता रहेको भन्दै उनले एमाले नवयुवाका जायज मागहरू सम्बोधन गर्न सधैँ तत्पर रहेको बताए ।

https://www.facebook.com/share/p/1CoHyMDGXZ/

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय