सुशासन र भ्रष्टाचारविरुद्ध चर्को नारासहित सुरु भएको जेनजी विद्रोहले गत वर्ष भदौ २३ र २४ गते निकै उग्र रूप लियो । त्यस क्रममा देशभर ७६ भन्दा बढी आन्दोलनकारीको ज्यान गयो भने सयौँ घाइते भए ।
देशका महत्त्वपूर्ण संरचनाहरू ध्वस्त बनाइए । सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवनलगायत धेरै संचरनामा जले ।कोशी प्रदेशमा पनि मुख्यमन्त्री कार्यालय, प्रदेशसभा, मन्त्रालयहरूमा क्षति पुग्नुको साथै इटहरी तथा विर्तामोडमा गरी एक दर्जनजति युवाहरूको ज्यान गयो ।यसै पृष्ठभूमिमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की त्यसबेला कहाँ थिए ? उनले त्यसबेलालाई कसरी बुझे र अहिले प्रदेश सरकार कसरी बढिरहेको छ भन्ने विषयमा गरिएको छोटो कुराकानी ।
- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको एक वर्ष पुगेको छ । तपाईं त्यस दिनलाई कसरी सम्झिनुहुन्छ ?
–म त्यस दिन काठमाडौंमा एउटा नवयुवाहरूको ठुलो प्रदर्शन भयो । नवयुवाहरू सुशासनको पक्षमा सडकमा उत्रिएका थिए । उनीहरूको त्यो शान्तिपूर्ण प्रदर्शन समाप्त भइसकेपछि त्यहाँ आएका केही तत्त्वहरूले मान्छेलाई भड्काएर प्रहरीसँग मुठभेड गराएको देखिन्छ ।
यद्यपि, त्यो जेनजी मुभमेन्टकै तर्फबाट भएको विद्रोह थिएन । त्यहाँ जेनजी विद्रोहलाई आवरण बनाएर मुलुकलाई मुठभेड र द्वन्द्वतर्फ लैजाने प्रयास भएको देखिन्छ । म ती मारिएका नवयुवाहरूप्रति उच्च सम्मान र श्रद्धासुमन व्यक्त गर्न चाहन्छु र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । उनीहरूले उठाएका मुद्दामा प्रदेश र संघीय सरकार पनि सहमत नै थियो र वार्ताको तयारी पनि हुँदै थियो । तर, आवरणमा अरु नै खेल भयो ।
- अनि २४ गते नि ? तपाईं त मुख्यमन्त्री कार्यालयमै हुनुहुन्थ्यो होला नि, हैन ?
– २४ गते म विराटनगरमै थिएँ । तर मुख्यमन्त्री कार्यालय आइपुगिसकेको थिइनँ । म निवासमै थिएँ । अघिल्लो दिन मात्रै देशका २०–२२ जना नानीबाबुहरू मारिएका थिए, देशभर प्रदर्शन चर्किएको थियो । त्यसले कस्तो रूप लिने हो भन्नेबारे म निवासमा सुरक्षा निकायका प्रमुखहरूसँग बसेर छलफल र सर्कुलर गरिरहेको थिएँ ।
- २४ गते तपाईं कति बजेतिर निवासबाट बाहिर निस्कनुभयो ?
– ठ्याक्कै समय त अहिले बिर्सिएँ । १०–११ बजेतिर होला । तर म त्यो दिन मुख्यमन्त्री कार्यालय आउन पाइनँ, सुरक्षाका कारण म सुरक्षा संयन्त्रकै निगरानीमा बस्नुपर्ने अवस्था आयो ।
- जलेपछिको मुख्यमन्त्री कार्यालय आएर हेर्दा कस्तो लाग्यो ? त्यो दृश्यलाई कसरी हेर्नुहुन्छ ?
– भदौ २४ गतेको घटनालाई म यति भन्छु— यो नेपाली जनताले जीवनभर सम्झिने एउटा कहालीलाग्दो र दुःखद दिन थियो । यसले हाम्रा पुरातात्त्विक महत्त्वका सम्पदाहरू, सिंहदरबारलगायत राज्यका प्रशासनिक केन्द्रहरू, सुरक्षा निकायका अफिसहरू, प्रहरी चौकीहरू, स्थानीय पालिकाहरू, प्रदेश र संघीय मन्त्रालयहरू केही पनि बाँकी राखेन । होटल, पर्यटन केन्द्र र निजी व्यापारीका प्रतिष्ठानहरूमाथि जुन खालको भयानक आक्रमण र आगजनी भयो, त्यसले नेपाललाई धेरै पछाडि धकेलिदियो । यो अत्यन्तै दुःखद घटना थियो र यसबाट हामीले गम्भीर पाठ सिक्नुपर्छ ।
- आन्दोलनपछिको यो एक वर्षमा प्रदेश संरचनालाई रिफर्म गरिसक्नुभयो ?
– रिफर्म भइसकेकै छैन । म अहिले जहाँ बसेर काम गर्दैछु, यहाँ क्याबिनेट बस्ने खालको वातावरणसमेत छैन । हामी अझै पनि त्यो घटनाबाट मानसिक रूपमा आक्रान्त छौँ । भौतिक रूपमा ठुलो क्षति भयो । हामीले अझै पनि हाम्रा मन्त्रालयहरूलाई सोचेजस्तो पुनस्र्थापित गर्न सकेका छैनौं ।
- यो एक वर्षको समीक्षा कसरी गर्नुहुन्छ ? प्रदेश र संघीय सरकारको अवस्था कस्तो छ ?
– मुलुकलाई जुन ढंगले खरानी बनाउने प्रयास गरिएको थियो । अहिले हामी त्यही खरानीको थुप्रोमा उभिएर धुलो टक्टक्याउँदै अघि बढ्दैछौं । हाम्रा जलेका गाडीहरू अझै देखिन्छन्, जलेका घर र अफिसहरू जताततै छन् । यतिका बाबजुद पनि हामीले प्रदेश संरचनालाई जनताले अनुभूति गर्ने गरी पुनस्र्थापित गर्ने प्रयास गरिरहेका छौँ ।
- २४ गतेको त्यो विध्वंसलाई सम्झेर भावी पुस्ताले के सिक्नुपर्छ जस्तो लाग्छ ?
– विद्रोह जुनसुकै उत्तेजनामा आएर भए पनि आफ्नो राष्ट्रिय सम्पत्ति र संरचनामाथि प्रहार गर्नु हुँदैन । राजनीतिक विद्रोहका आफ्ना ठाउँ होलान्, तर हाम्रा भवन, सम्पदा र सम्पत्ति जलाउनु भनेको आफ्नै भविष्य जलाउनु हो । हाम्रा नानीबाबुहरूलाई हामीले सानैदेखि यो कुरा सिकाउनुपर्छ ।
- त्यो मुभमेन्टपछि निर्वाचन भयो, नयाँ शक्ति रास्वपाले दुई तिहाइ ल्याएर सरकार चलाइरहेको छ । बालेन्द्र शाह प्रधानमन्त्री हुनुहुन्छ । उहाँहरूको राजनीतिक स्टेपलाई कसरी हेर्नुहुन्छ ?
– मैले अर्काको पार्टीको बारेमा धेरै टिप्पणी गर्नु त मिल्दैन । तर उहाँहरूले फागुनको निर्वाचनबाट ठुलो जनादेश पाउनुभएको छ । यो जनादेशलाई सदुपयोग गर्नुस् भन्ने मेरो चाहना छ । संविधान, कानुन र स्थापित मूल्य–मान्यतालाई शिरोपर गरेर, कसैलाई नभत्काई सुशासन र राष्ट्रिय हितमा काम होस् । जनताले लोकतान्त्रिक शासन प्रणालीको सही अर्थमा अनुभूति गर्न पाऊन्, म त्यही पक्षमा छु ।
- अन्त्यमा, पुराना भनिएका तीन ठुला दलले चाहिँ यो सबै घटनाबाट के सिक्ने त ?
– हामी पुराना हौं वा नयाँ, सबैले सिक्नुपर्ने कुरा छ । हामी कहाँ–कहाँ चुक्यौँ, त्यसको गम्भीर आत्मसमीक्षा गर्नुपर्छ । नयाँ भनिएकाहरू पनि कहाँ चुक्दैछन्, त्यहाँबाट पनि हामीले पाठ लिनुपर्छ । मुख्य कुरा देश र जनताको हित नै हो ।







