काठमाडौं । काठमाडौं महानगरपालिकाले सहरी क्षेत्रमा बढ्दै गएको बाढी अर्थात् सहरी फ्ल्यास फ्लडको जोखिम न्यूनीकरण गर्न रिचार्ज काठमाडौं अभियान सञ्चालन गर्ने भएको छ।
वर्षाको पानी सङ्कलन तथा जमिनमा पुनर्भरण गर्ने उद्देश्यले यो अभियान अघि बढाउन लागिएको हो। आइतबार काठमाडौं महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौंमा थोरै पानी पर्दासमेत बाढी आउने अवस्था सिर्जना भएकाले यसको दीर्घकालीन समाधान खोज्न लागिएको बताइन्।
‘पानी पर्दा चैनले सुत्न सक्ने अवस्था छैन’
करिब तीन दशकअघि सहरी क्षेत्रमा जथाभावी गरिएका विकास तथा संरचना निर्माणका कारण अहिले ‘अर्बन फ्ल्यास फ्लड’ को समस्या सिर्जित भएको डंगोलको भनाइ छ।
‘पहिले पानी पर्दा आनन्दले निद्रा लाग्थ्यो, तर अहिले पानी पर्न थालेपछि चैनसँग सुत्न सक्ने अवस्था छैन,’ कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘मध्यरातमै पनि नगर प्रहरी, विपद् व्यवस्थापन टोली र जनप्रतिनिधिहरू विपद् आइपर्दा फिल्डमा जानका लागि स्ट्यान्डबाइ बस्नुपर्ने अवस्था छ।’
तत्कालै गर्न सकिने कामबाट सुरुवात
सहरी बाढीको समस्या समाधानका लागि महानगरले दीर्घकालीन उपायबारे अध्ययनसमेत गरिरहेको छ। तर, अध्ययनको प्रतिवेदन मात्र पर्खेर नबसी अहिले तत्काल गर्न सकिने कामबाटै समाधानको सुरुवात गर्न ‘रिचार्ज काठमाडौं’ अभियान अघि बढाइएको उनले जानकारी दिइन्।
यस अभियानमार्फत वर्षाको पानी सङ्कलन गर्ने, जमिनमा पुनर्भरण गर्ने र पानीको उचित व्यवस्थापन गर्ने कामलाई उच्च प्राथमिकता दिइने महानगरले जनाएको छ।
आजैदेखि गर्न सकिने कामबाट सुरुवात गर्दै काठमाडौंलाई बाढीको जोखिमबाट सुरक्षित र व्यवस्थित बनाउने दिशामा महानगर अघि बढेको डंगोलले स्पष्ट पारिन्।





