अलकायदाका पूर्वप्रमुख ओसामा बिन लादेनले एक समय भारतलाई पनि सम्भावित आतंकवादी हमलाको निशाना बनाउने योजनामा राखेका थिए । अमेरिकी खुफिया एजेन्सी सीआईएले सार्वजनिक गरेका दस्तावेजबाट यस्तो जानकारी बाहिर आएको हो ।

यी दस्तावेज सन् २००१ सेप्टेम्बर ११ मा न्युयोर्कस्थित वर्ल्ड ट्रेड सेन्टरमा अलकायदाले गरेको आतंकवादी हमलाको २५औँ वार्षिकीका अवसरमा सार्वजनिक गरिएको हो ।

द हिन्दू’को रिपोर्टअनुसार, सीआईएले शुक्रबार (११ सेप्टेम्बर २०२६) तत्कालीन अमेरिकी राष्ट्रपति बिल क्लिन्टन र जर्ज डब्ल्यू बुसलाई पठाइएका ६९ वटा खुफिया ब्रिफिङसँग सम्बन्धित १०० भन्दा बढी पृष्ठका सामग्री सार्वजनिक गरेको छ ।

यसमा २८ अगस्ट १९९८ को एउटा ज्ञापन पनि समावेश छ । त्यसमा बिन लादेन र अलकायदाका अन्य आतंकवादी अफगानिस्तानमा अमेरिकी हमलाबाट जोगिएको उल्लेख छ ।

उक्त ज्ञापनअनुसार बिन लादेनले इजिप्ट र अरब प्रायद्वीपमा हमला गर्न चाहेका थिए । यसबाहेक कुवेत, साउदी अरब, यमन, भारत, पाकिस्तान, युगान्डा र सम्भवत: नाइजेरिया पनि सम्भावित निशानामा थिए ।

पटक–पटक चेतावनी

सार्वजनिक गरिएका दस्तावेजहरूले सेप्टेम्बर १९९८ देखि सेप्टेम्बर २००१ सम्म सीआईएले बिन लादेनबाट हुनसक्ने सम्भावित हमलाबारे अमेरिकी राष्ट्रपतिहरूलाई पटक–पटक चेतावनी दिएको देखाउँछन् ।

यद्यपि, अलकायदाले अमेरिकामा हमला गर्ने योजना बनाइरहेको थियो भन्ने कुरा पहिलोपटक सार्वजनिक भएको भने होइन । सन् २००४ को ९/११ आयोगको प्रतिवेदनले पनि अलकायदाले अमेरिकालाई निशाना बनाउने योजना बनाएको निष्कर्ष निकालेको थियो ।

सीआईएका दस्तावेजहरूले अमेरिकी प्रशासनलाई सम्भावित हमलाको आशंकाबारे पहिल्यै चेतावनी दिइएको पुष्टि गरेका छन् । ९/११ घटनाको जाँचबुझ आयोगका अनुसार ती चेतावनीमाथि प्रभावकारी रूपमा काम हुन नसक्नुका पछाडि विभिन्न कारण थिए ।

यसमा खुफिया क्षमताको कमी, सम्भावित हमलाको कल्पना गर्न नसक्नु तथा प्रशासनिक र नीतिगत प्राथमिकता प्रमुख थिए ।

अमेरिकामा विमानबाट हमला गर्ने योजना

सेप्टेम्बर १९९८ को एउटा ब्रिफिङमा बिन लादेनको प्राथमिकता अमेरिकाभित्र कुनै स्थानलाई निशाना बनाउनु रहेको उल्लेख थियो । सम्भावित योजनाका रूपमा अमेरिकाको कुनै सहरमा विस्फोटक पदार्थले भरिएको विमान विस्फोट गराउने कुरा पनि उल्लेख गरिएको थियो ।

सोही ब्रिफिङमा कस्मिरको आतंकवादी संगठन हरकत–उल–मुजाहिदीनले बिन लादेनसँग मिलेर अमेरिका, बेलायत र फ्रान्सका हितलाई निशाना बनाउन समन्वय गरिरहेको उल्लेख गरिएको थियो । दस्तावेजमा हमलाको स्थानसँग सम्बन्धित जानकारी भने सार्वजनिक गरिएको छैन ।

अगस्ट २००१ मा पनि दिइएको थियो चेतावनी

अगस्ट २००१ को एउटा ज्ञापनको शीर्षक थियो- ‘बिन लादेन अमेरिकामा हमला गर्न दृढ ।’

यी दस्तावेज त्यस्तो समयमा सार्वजनिक गरिएका हुन्, जतिबेला सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको आतंकवादी हमलाको २५औँ वार्षिकी मनाइँदैछ ।

उक्त हमलामा अलकायदाका आतंकवादीहरूले न्युयोर्कस्थित वर्ल्ड ट्रेड सेन्टरसहित अमेरिकाका अन्य स्थानलाई निशाना बनाएका थिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय