काठमाडौं । नेकपा एमाले संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको क्षतिको वैज्ञानिक अभिलेख तयार गरी अन्तर्राष्ट्रिय मञ्चमा क्षतिपूर्तिको दाबी गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले जलवायु परिवर्तनको समस्या सिर्जना गर्न नेपालको योगदान न्युन भएपनि त्यसको परिणामस्वरूप नेपाल अग्रपंक्तिमा रहेर ठूलो क्षति व्यहोर्नुपरेको उल्लेख गरिन् ।
विश्वव्यापी जलवायु परिवर्तनको कारण नेपालले भोगिरहेको क्षतिको वैज्ञानिक अध्ययन गरी अन्तर्राष्ट्रियस्तरमा नेपालको आवाज बलियो बनाउनुपर्नेमा सबै राजनीतिक दलहरु एकजुट हुन आह्वान पनि गरिन् ।
‘जलवायु परिवर्तनका कारण नेपालीले भोग्नुपरेको विपद्लाई वैज्ञानिक अध्ययनका आधारमा स्थापित गर्दै अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाऔँ । यसका लागि सबै राजनीतिक दलको साथ र सहयोग लिने संयन्त्र स्थापना गरी साझा राष्ट्रिय दृष्टिकोण र प्रतिवद्धतासहित अन्तर्राष्ट्रिय स्तरमा हाम्रो जलवायु अधिकारसहितको दाबी बलियो ढङ्गले प्रश्तुत गरौं,’ उनले भनिन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यु, संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिने पूर्वसन्ध्यामा नेपालले जलवायु परिवर्तनका कारण भोग्नुपरेको यो अपूरणीय क्षति गम्भीर ढङ्गले अन्तर्राष्ट्रिय मञ्चमा उठाउनुहुनेछ भन्ने अपेक्षा राख्दछु ।’








