काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश अँध्यारो युगबाट उज्यालो युगमा प्रवेश गरेकाले युवाहरू निराश हुनु नपर्ने बताएका छन् ।
काठमाडौंको जोरपाटीमा रहेको नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशमा असाधारण विकास हुँदै गएकाले केही भएन वा सरकारले केही गरेन भन्न नमिल्ने बताएका हुन् । उनले देश बनाउने सवालमा अन्धाधुन्ध हिसाबले नभई सोच विचार गरेर सरकारले काम गरिरहेको स्पष्ट पार्दै नागरिकले पनि यस यात्रामा साथ र सहयोग दिनुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री ओलीले एसइईमा धेरै सङ्ख्यामा विद्यार्थी अनुत्तीर्ण हुने गरी पढाउने शिक्षकलाई तलब बढाउन नसकिने र विद्यार्थीलाई बुझाएर पढाउन नसक्ने शिक्षकको कमजोरीको दोष विद्यार्थीलाई दिन नमिल्ने बताए ।
यसअघि प्रधानमन्त्री हुँदा आफूले ३ सय ९६ वटा आधारभूत अस्पतालको एकै पटक शिलान्यास गरेको स्मरण गराउँदै उहाँले यसबीचमा प्रभावकारी रूपमा काम हुन नसकेको बताए । कार्यक्रममा प्रधानमन्त्री ओलीले अस्पतालको रजत जयन्ती स्मारिकाको विमोचन गरेका थिए ।






