सुदूरपश्चिममा लागुऔषध दुर्व्यसनका घटना बढ्दै गएको पाइएको छ । आर्थिक वर्ष २०८२/०८३ मा लागुऔषध सम्बन्धी अपराधमा १ हजार १४६ पक्राउ परेका छन् । तीमध्ये ४९३ जना एसईई उत्तीर्ण गरेका युवा छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार सो अवधिमा साधारण लेखपढ गर्न सक्ने ४०३ जना, कक्षा १२ उत्तीर्ण गरेका २०७ जना र कक्षा १२ भन्दा माथि अध्ययन गरेका ४३ जना लागुऔषध सम्बन्धी अपराधमा पक्राउ परेका थिए ।तीन वर्षको तथ्याङ्क हेर्दा प्रदेशमा लागुऔषध सम्बन्धी अपराधमा पक्राउ पर्नेको सङ्ख्या बढ्दो देखिन्छ । आर्थिक वर्ष २०८०/०८१ मा ८४५ वटा मुद्दा दर्ता हुँदा ७९६ जना पक्राउ परेका थिए । आर्थिक वर्ष २०८१/०८२ मा ६९३ मुद्दा दर्ता हुँदा १ हजार ४३ जना पक्राउ परे । आर्थिक वर्ष २०८२/८३ मा ६९४ मुद्दा दर्ता हुँदा पक्राउ पर्नेको सङ्ख्या बढेर १ हजार १४६ पुगेको छ ।गत आर्थिक वर्षमा जिल्लागत रूपमा कैलालीमा सबैभन्दा धेरै ६३६ जना पक्राउ परेका छन् । कञ्चनपुरमा ४१६ जना, डडेल्धुरामा १२, डोटीमा ७, बैतडीमा १५, दार्चुलामा २१, बझाङमा २४, बाजुरामा ४ र अछाममा ११ जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार कैलाली र कञ्चनपुरमा लागुऔषधको समस्या बढी देखिनुको एउटा प्रमुख कारण भारतसँग जोडिएको खुला सीमा हो । भारतबाट विभिन्न नाका हुँदै लागुऔषध नेपाल भित्र्याउने र यहाँ बिक्री वितरण गर्ने गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी पदमवहादुर बिष्टले जानकारी दिए ।

मुख्य नाकासँगै अन्य नाकाबाट समेत लागुऔषध भित्रिने गरेको प्रहरीको भनाइ छ ।

लागुऔषध कारोबारमा पछिल्लो समय महिला तथा किशोरीको संलग्नता देखिने गरेको प्रहरी बताउँछ । पैसा कमाउने लोभमा भारतबाट लागुऔषध ल्याएर नेपालमा बिक्री गर्ने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता योगेन्द्र तिमिल्सिनाले बताए । खुला सीमा क्षेत्रका कारण लागुऔषध नियन्त्रणमा चुनौती रहेको उनको भनाइ छ ।

लागुऔषधको कारोबार प्रहरीको सुरक्षा घेराभित्र समेत पुग्ने गरेको घटनाले देखाएको छ । केही समयअघि कैलाली कारागारमा छोरालाई भेट्न पुगेकी धनगढीकी ५० वर्षीय कमलादेवी अवस्थीको साथबाट ५ ग्राम ४० मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो । उनका छोरा ओमप्रकाश अवस्थी लागुऔषध मुद्दामै कैद भुक्तान गरिरहेका थिए ।

यस्तै धनगढी–६ चटकपुरका २५ वर्षीय भीम बोगटीले जेलमा रहेका आफन्तका लागि ल्याएको स्याम्पुको बट्टाबाट १३ ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको थियो ।

लागुऔषध कारोबारमा प्रहरीसमेत संलग्न रहेको घटनासमेत यसअघि प्रकाशमा आइसकेको ५ । कैलाली कारागारमा कार्यरत प्रहरी हवल्दार लागुऔषध कारोबारमा संलग्न रहेको अनुसन्धानबाट खुलेपछि पक्राउ परेका थिए ।

प्रहरीले भने नियन्त्रणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । विद्यालयदेखि वडा तहसम्म सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको प्रहरीको भनाइ छ ।

पहिलो चरणमा कक्षा ११ र १२ का विद्यार्थीलाई लागुऔषधसम्बन्धी सचेतना कक्षा सञ्चालन गरिएको र कक्षा ७ देखि १० सम्मका विद्यार्थीलाई पनि यस्ता कक्षा सञ्चालन गर्ने तयारी गरिएको प्रहरीले जनाएको छ । अभिभावक र बालबालिकालाई सहभागी गराएर वडा तहमा समेत सचेतना कार्यक्रम गर्ने योजना रहेको प्रहरीले जनाएको छ ।

लागुऔषध प्रयोगकर्तालाई उपचार र पुनःस्थापनाका लागि धनगढी उपमहानगरपालिका–१४ फूलबारीमा आसरा सुधार गृह सञ्चालनमा ल्याइएको छ । सुधार गृहमा लागुऔषधमा फसेकाहरूलाई राखेर चिकित्सकीय जाँच, उपचार, मनोपरामर्श तथा योगालगायतका गतिविधि गराइने व्यवस्था गरिएको छ ।

प्रहरीका अनुसार लागुऔषधका कारण युवाहरूमा विभिन्न समस्या देखिनुका साथै कतिपय जेल जीवन बिताइरहेका छन् । त्यसैले अपराध नियन्त्रणसँगै प्रयोगकर्ताको उपचार र पुनःस्थापनालाई पनि प्राथमिकतामा राखिएको प्रहरीको भनाइ छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय