काठमाडौं : सोताङ गाउँपालिका सोलुखुम्बुका उपाध्यक्ष अन्जु नाछिरिङ राई र उनका छोरा सुनिल नाछिरिङ राईविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उपाध्यक्ष र उनका छोराविरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
उनीहरूविरुद्ध ४५ हजार विगो तथा सोही बमोजिमको कैद र जरिवाना सजायको मागदावी गरिएको आयोगले जनाएको छ।
गाउँपालिकामा आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालित ढाका सिलाइ बुनाइ तालिममा प्रशिक्षकको रुपमा काम दिलाएवाफत ४५ हजार घुस लिएको उनीहरूविरुद्ध उजुरी परेको थियो। सोही उजुरीका आधारमा अनुसन्धानका क्रममा उपाध्यक्ष राई्ले तालिममा प्रशिक्षकका रुपमा काम दिलाएबापत सेवाग्राहीबाट ४५ हजार रुपैयाँ माग गरी छोरा सुनिलको बैंक खातामा रहेको क्यूआर कोडमार्फत रकम जम्मा गर्न लगाएको पुष्टि भएको आयोगको दावी छ।
आयोगका अनुसार उपाध्यक्ष राईले आफ्नो पद तथा पदीय जिम्मेवारी बहन गर्ने क्रममा ढाका बुनाइ तालिमको प्रशिक्षकका रुपमा काम दिलाएवापत र तालिममा सहजीकरण गरेबापत छोरा सुनिलसँगको मिलेमतोमा आफ्नो निमित्त घुस लिएको देखिएको छ।








