काठमाडौँ । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले पार्टी विभाजन हुन नदिन निर्वाचन आयोग र अदालतले आधिकारिक मानेको पक्षमा आफू सहभागी भएको बताएका छन्।
बुधबार काठमाडौँमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले पार्टीको आधिकारिकताका विषयमा कानुनी लडाइँ जारी रहे पनि पार्टीलाई एकताबद्ध राख्न आधिकारिक काङ्ग्रेसको पक्षमा उभिएको स्पष्ट पारेका हुन् ।भाद्र २४ गते शेरबहादुर देउवामाथि भएको घटना दुःखद र निन्दनीय भएको उल्लेख गर्दै उपचारपछि फर्किएका देउवालाई सर्वोच्च नेताका रूपमा स्वीकार्न सबै तयार रहेको उनले बताए। आधिकारिक पार्टी कार्यालय सानेपाको आह्वानमा हुने महाधिवेशनमा देउवाले प्रमुख अतिथिका रूपमा सहभागी भएर उद्घाटन गरिदिनुपर्ने उनको भनाइ छ।कांग्रेस सभापति गगन थापा र पूर्वशेरबहादुर देउवा दुवै जना एक-आपसमा संवाद गर्न र भेट्न इच्छुक रहेको उल्लेख गर्दै उनले केही दिनभित्रै प्रत्यक्ष संवाद र सहमति गराएर १५औँ महाधिवेशनलाई पार्टी एकताको महाधिवेशन बनाउन पहल भइरहेको दाबी गरे।आधिकारिक कार्यालय सानेपा र असन्तुष्ट पक्ष रहेको चुनदेवी नमिली नेपाली कांग्रेसको जनमत, शक्ति र समर्थन जोगाउन नसकिने भएकाले दुवै पक्ष मिलेर अगाडि बढ्नुको विकल्प नरहेको धारणा उनले राखेका छन्।








