र्चुगलमा रहेका एक नेपाली युवाले आफूसँग रहेको विश्वप्रसिद्ध फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोको हस्ताक्षरयुक्त जर्सी बिक्री गरेर रसुवा बाढी प्रभावितलाई आर्थिक सहयोग गरेका छन्।

पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका कैलालीको गौरीगङ्गा नगरपालिका–८ बढैपुरका ३१ वर्षीय राज कलेलले रोनाल्डोले हस्ताक्षर गरेको जर्सी १ हजार २०० युरो (नेपाली रुपैयाँ २ लाख १० हजार ६ सय) मा बिक्री गरेका हुन्। उक्त रकम कलेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन्।

एक साताअघि १५ हजार रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरिसकेका उनले रसुवा बाढीको भयावह असर देखेपछि थप सहयोग गर्ने उद्देश्यले जर्सी बिक्री गरेका हुन्।

‘प्राकृतिक विपत्तिका कारण देश नै सङ्कट र शोकमा डुबेको बेलामा आफूसँग भएसम्मको सहयोग गर्न मन लागेको थियो। सामान्य कमाइ भएको मसँग सम्पत्ति त्यही रोनाल्डोको हस्ताक्षर भएको जर्सी थियो। त्यही बेचेर सरकारलाई सहयोग गरें,’ कलेलले भने।

मधेसबाट चामलको बोरा बोकेर राहतका लागि मानिसहरू पहाड उक्लिएको देखेपछि आफूलाई पनि भएभरको सहयोग गर्ने इच्छा जागेको उनले बताए। ‘मसँग भएको सबैभन्दा ठूलो सम्पत्ति त्यही टिसर्ट थियो र बाढी प्रभावितलाई सहयोग गर्न बिक्री गरें,’ उनले भने।

उनको यो अभियानमा पोर्चुगलमा रहेका रामेशराज बास्तोलाले सहयोग गरेका छन्। ‘युरो चौतारी’ नामको फेसबुक पेजबाट रोनाल्डोको हस्ताक्षर भएको जर्सी बिक्री गरेर बाढी प्रभावितलाई सहयोग गर्न इच्छुक रहेको सूचना राखिएको थियो। सोही सूचनाका आधारमा फ्रान्समा बस्ने एक नेपालीले उक्त जर्सी खरिद गरेका हुन्।

फेसबुक पेजमा जर्सी बिक्रीको सूचना आएपछि कलेललाई बेल्जियम, जर्मनी र डेनमार्कबाट समेत नेपालीहरूले सम्पर्क गरेका थिए। टिसर्टको मूल्य कति राख्ने भन्नेमा अलमलमा परेका उनलाई बिक्री गर्न पनि सहज भएन।

‘फ्रान्समा रहेका एक जना नेपाली दाइले १ हजार १५० युरोमा जर्सी किन्ने पक्का गर्नुभयो। उहाँले फेरि ५० युरो थपेर जर्सी किन्नुभयो,’ कलेलले भने।

फ्रान्समा रहेका वीरेन्द्र गुरुङले उनको जर्सी खरिद गरेका हुन्। उनका आफन्तमार्फत उक्त जर्सी पोर्चुगलमै हस्तान्तरण गरिएको छ।

‘उहाँले टिसर्ट किनेको कुरा प्रचार नगरिदिनुहोला भन्नुभएकाले उहाँको बारेमा चर्चा गरिनँ। बिक्री गर्नुको मेरो उद्देश्य देखेर उहाँले बढी नै मूल्यमा किन्नुभएको हो,’ कलेल भन्छन्, ‘एक हजार युरोभन्दा बढी जति दिए पनि हुन्छ भनेको थिएँ। किनभने मैले पनि त्यो टिसर्ट खरिद गर्न १२१ युरो लगानी गरिसकेको थिएँ। तर उहाँले १ हजार २०० युरोमा किन्नुभयो।’

‘त्यो टिसर्ट मेरो सबैभन्दा महँगो सामान थियो’

सेप्टेम्बर २, २०२६ मा राज कलेलले आफ्नो फेसबुक पेजमा लेखे, ‘मेरो जीवनमा सबैभन्दा महँगो सामान यही टिसर्ट हो।’

उनले लेखेका छन्, ‘जसमा क्रिस्टियानो रोनाल्डोको हस्ताक्षर छ, अनि मेरो जीवनको एउटा अमूल्य सम्झना पनि जोडिएको छ। तर आज यही प्रिय सम्झना बाढीपीडित नेपाली परिवारको सहयोगका लागि समर्पण गर्दै छु, माफ गर क्रिस्टियानो रोनाल्डो !’

यो उनका लागि फेसबुकमा गरिने एउटा पोस्ट मात्रै थिएन। जीवनभर सँगाल्छु भनेर सिसाको फ्रेममा राखिएको एउटा सम्पत्ति बिक्री गर्नु थियो। तर रसुवा बाढीका कारण परिवार, घरसम्पत्ति गुमाएकाहरूलाई सहयोग गर्ने उद्देश्य भएकाले उनलाई दुःख भने लागेको थिएन।

विश्वप्रसिद्ध फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोको जर्सी, त्यो पनि उनकै हस्ताक्षरमा प्राप्त गरेको ठ्याक्कै दुई महिनामै बिक्री गर्नुपर्ला भन्ने कलेलले सोचेका थिएनन्। रोनाल्डोको हस्ताक्षर भएको उक्त टिसर्ट उनले जुलाई २, २०२६ मा पाएका हुन्।

रोनाल्डोका असाध्यै ठूला समर्थक कलेललाई ‘संयोगले रोनाल्डोकै परिवारको वरिपरि’ पुर्‍याएको थियो। जसका कारण उनी टिसर्टमा रोनाल्डोको हस्ताक्षर गराउन सफल भए।

राज कलेल पोर्चुगलको राजधानी लिस्बनस्थित एक रेस्टुरेन्टमा काम गर्छन्। झन्डै चार वर्षदेखि सोही रेस्टुरेन्टमा काम गरिरहेका उनले क्रिस्टियानो रोनाल्डोका परिवार खाना खान आउने गरेको थाहा पाए। रेस्टुरेन्टको भान्सामा काम गर्ने भएकाले ‘बाहिर को आयो–गयो ?’ भन्ने उनले चाल पाउँदैनथे। तर कहिलेकाहीँ रोनाल्डोका आफन्त बाहिर आएको भने सुनिरहन्थे।

रोनाल्डो ‘आफूलाई असाध्यै मनपर्ने खेलाडी भएको’ बताइरहने कलेललाई सोही रेस्टुरेन्टका मालिकले एक दिन अनौठो प्रस्ताव दिए।

‘रेस्टुरेन्टको मालिकले रोनाल्डोको दिदीसित भेटाइदिन्छु, तिमी के चाहन्छौ ? भन्नुभयो एक दिन,’ कलेल भन्छन्, ‘रोनाल्डोको जर्सीमा हस्ताक्षर गराउने मन थियो। सोरुमबाट टिसर्ट किनेर ल्याएर उहाँको दिदीलाई पठाइदिएँ।’

क्रिस्टियानो रोनाल्डोकी जेठी दिदी एल्मा एभेइरोको हातमा टिसर्ट पठाएको तीन महिनापछि उनले ‘हस्ताक्षरसहितको उक्त टिसर्ट’ पाए।

‘यो पटकको वर्ल्डकप सुरु भइसकेको थियो। त्यसैले उतै लगेर हस्ताक्षर गराउनुभएको रहेछ। एल्मा दिदी आफैं रेस्टुरेन्टमा आएर मलाई टिसर्ट दिनुभयो,’ कलेल भन्छन्।

राज कलेल आफूले पाएको उक्त टिसर्ट ‘नेपालको बाढी प्रभावितका लागि बिक्री गरेको खबर’ क्रिस्टियानो रोनाल्डोसम्म पुर्‍याउन चाहन्छन्। उनी भन्छन्, ‘मलाई माफी माग्न पनि मन छ कि मैले यसरी उहाँको सम्मानलाई बिक्री गर्नुपर्ने अवस्था आयो।’

आफूले काम गरिरहेको रेस्टुरेन्टका मालिकलाई रोनाल्डोसँग भेट गराइदिन आग्रह गरेको उनी सुनाउँछन्।

‘नेपालको झन्डा समातेका क्रिस्टियानो रोनाल्डोसँग एउटा फोटो खिच्ने मन छ,’ उनी भन्छन्, ‘त्यसका लागि ढाकाटोपी, खादा र नेपालको झन्डा जम्मा गरेर बसेको छु।’

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय