काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत महिला कबड्डीको आफ्नो दोस्रो खेलमा नेपाल चाइनिज ताइपेइसँग पराजित भएको छ ।
जापानको तोकाइ सिटिजन जिम्नेसियममा बुधबार दिउँसो भएको खेलमा नेपाल चाइनिज ताइपेइसँग ३७-१८ ले पराजित भएको हो ।
पहिलो हाफमा १३-१३ को बराबरी भएको थियो । दोस्रो हाफमा भने नेपालले निराशाजनक प्रदर्शन गर्दै खेल २४-५ ले सुम्पियो र ३७-१८ ले पराजित भयो ।
नेपालले पहिलो खेलमा थाइल्यान्डलाई पराजित गरेको थियो । चाइनिज ताइपेइले श्रीलंकालाई हराएको थियो ।
८ टोली सहभागी कबड्डीको एक समूहमा ४ राष्ट्र छन् । नेपाल रहेको समूहमा थाइल्यान्ड, श्रीलंका र चाइनीज ताइपेइ छ ।
नेपालले अब समूह चरणको अन्तिम खेलमा बिहीबार श्रीलंकासँग खेल्नेछ । त्यसपछि सेमिफाइनल पुग्ने-नपुग्ने टुङ्गो लाग्नेछ ।








