काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा आइतबार वडा अधिवेशन हुने भएको छ ।
१५ औं महाधिवेशन अन्तर्गत डडेल्धुरामा आइतबार वडा अधिवेशन गर्ने तयारी रहेको जिल्ला कार्यसमितिका एक नेताले जानकारी दिए ।
उनका अनुसार आइतबार बिहान ९ बजेबाट जिल्लामा वडा अधिवेशनहरू सुरु हुने छन् । ‘नेपाली कांग्रेस जिल्ला कार्यसमिति डडेल्धुरा’ नामक फेसबुक पेजमा अधिवेशनको सूचना जारी गरिएको छ ।
‘डडेल्धुराका ५२ वटै वडाहरूमा वडा अधिवेशन असोज ३ र ४ गते हुने भएका हुँदा मातहतका सबै समितिहरू क्रियाशील रही वडा अधिवेशन सफलतापूर्वक सम्पन्न गर्न गराउन हार्दिक अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ ।
कांग्रेस डडेल्धुराका एक पदाधिकारीले कुराकानीका क्रममा आइतबार वडा अधिवेशन तोकिएको पुष्टि गरेका छन् ।