काठमाडौँ । राष्ट्रिय सभामा नेपाली कम्युनिस्ट पार्टीका सांसद नरबहादुर विष्टले सरकारको सुशासनको दाबीमाथि प्रश्न उठाउँदै देशमा व्याप्त भ्रष्टाचार र प्रधानमन्त्रीको विदेश भ्रमणको कूटनीतिक शैलीप्रति आपत्ति जनाएका छन्।

राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले कारागार र निकुञ्ज प्रशासनमा भइरहेको भनिएको आर्थिक लेनदेनको निष्पक्ष छानबिन गर्न माग गरेका हुन्।सांसद विष्टले कारागार विभागका कैदीहरूसँग प्रतिव्यक्ति एक करोड र निकुञ्जका वार्डन सरुवामा २५ लाख रुपैयाँसम्मको घुस लेनदेन भएको सार्वजनिक अडियो-भिडियो प्रकरणमा संसद्को ध्यानाकर्षण गराए। उनले यसलाई सुशासनको नारा दिने सरकारको विडम्बनापूर्ण अवस्थाको संज्ञा दिँदै मुख्य योजनाकारहरूमाथि कडा कारबाही हुनुपर्ने माग राखे।प्रधानमन्त्रीको संयुक्त राष्ट्रसङ्घको महासभा भ्रमणबारे टिप्पणी गर्दै सांसद विष्टले कूटनीतिक मर्यादामा चुकेको आरोप लगाए। ‘प्रधानमन्त्री राष्ट्रको गौरवको प्रतिनिधित्व गर्न जानुभएको हो, कुनै ब्रान्डको प्रचार गर्न होइन,’ सांसद विष्टले भने, ‘कूटनीतिक भेटघाट र प्रभावकारी संवादको साटो सस्तो प्रचारबाजीमा लाग्नु दुःखद् छ।’यसैगरी, भोटेकोशी बाढीपीडितको राहत वितरणमा देखिएको सुस्तताप्रति पनि उनले कडा आक्रोश व्यक्त गरे। सरकारले १५ अर्ब रुपैयाँ राहत सङ्कलन गरेको दाबी गरे पनि हालसम्म एक अर्ब रुपैयाँ मात्र परिचालित हुनुले पीडितहरूको घाउमा मलम लाग्न नसकेको उनको भनाइ छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय