काठमाडौं । प्रहरीले एक अर्ब तीन करोड भन्दा बढी रकम हुण्डी कारोबारमा संलग्न भएको आरोपमा सुनसरीबाट एक जनालाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी), कोशी प्रदेश कार्यालय र जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त टोलीले बिहीबार सुनसरीको धरान उपमहानगरपालिका–५ खैरेनीबाट ती व्यक्तिलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धरान–१३ स्थायी घर भएका ज्योति शाही रहेको सीआईबीले जनाएको छ ।
पक्राउ परेका शाहीले अन्य व्यक्तिसँग मिलेर घरेलु तथा साना उद्योग कार्यालय इटहरीमा शाही मनी ट्रान्सफर दर्ता गरेर त्यसका नाममा बैंक तथा वित्तीय संस्थामा ५२ वटा खाता खोलेर कारोबार गरिरहेको खुलेको सीआईबीले जनाएको छ ।








