काठमाडौँ । नेकपा (एमाले) को तेस्रो केन्द्रीय कमिटी बैठकले पार्टीको आन्तरिक एकतालाई सुदृढ गर्दै रूपान्तरणको नयाँ मार्गचित्रसहित विशेष सङ्कल्प पारित गरेको छ। असोज ५ देखि ८ गतेसम्म ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले पार्टी पुनर्जागरण र सुदृढीकरणका लागि ठोस योजनाहरू तय गरेको हो।
बैठकले विगतमा रहेका कमीकमजोरीहरूको गम्भीर समीक्षा गर्दै तिनलाई सच्याउने र आगामी दिनमा नदोहोर्याउने प्रण गरेको छ। यस अवधिमा देखा परेका असमझदारी र अस्वस्थताहरू यसै बैठकमार्फत पूर्ण रूपमा अन्त्य भएको तथा पार्टी भावनात्मक रूपमा थप एकजुट बनेको निष्कर्ष बैठकले निकालेको छ।पार्टीका निर्णयहरूलाई गम्भीरतापूर्वक बोध गर्दै निष्ठापूर्वक कार्यान्वयनमा लैजान सबै नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरिएको छ। बैठकबाट निर्मित एकता र रूपान्तरणको सन्देशलाई आत्मसात् गर्दै लोकतन्त्रको रक्षा र आगामी निर्वाचनको तयारीसम्बन्धी पार्टीले तय गरेका प्रमुख कार्यभारहरूमा पूर्ण रूपमा केन्द्रित हुन एमालेले समग्र पार्टी पङ्क्तिलाई आह्वान गरेको छ।








