विराटनगरको सेन्ट्रल मलमा पसल सञ्चालन गरेर बसेका चिनियाँ नागरिक पक्राउ परेका छन् ।
सूचना प्रविधि (आईटी) कम्पनीमा वैदेशिक लगानी भित्र्याउने अनुमति लिएर विराटनगरमा खुद्रा पसल योनो मार्ट सञ्चालन गरिरहेका चिनियाँ नागरिक जिङ्सियान सिएलाई पक्राउ गरेको हो ।
बुधबार प्रहरी, जिल्ला प्रशासन कार्यालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालयको संयुक्त टोली अनुगमनका लागि पुगेका थियो । तर, अनुगमन टोलीलाई चिनियाँ नागरिकले अवरोध गरेका थिए ।
अनुगमनमा अवरोध गरेपछि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । जसमा भिसाको उद्देश्य नै दुरुपयोग गरेको देखिएको मोरङ प्रहरी प्रमुख कवित कटवालले जानकारी दिए ।
उनका अनुसार मार्ट भने नेपाली नागरिकको नाममा दर्ता छ । तर, सञ्चालन भने चिनियाँ नागरिकले गर्दैआएका थिए ।
अनुगमनका क्रममा बिल छलेर व्यापार सञ्चालन भइरहेको भेटिएपछि मार्टमा प्रशासनले सिलबन्दी समेत गरेको छ ।
नेपालको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन अनुसार खुद्रा व्यापार (रिटेल बिजनेस) मा विदेशी लगानी ल्याउन पाइँदैन । तर, यो चिनियाँ समूहले काठमाडौंमा सूचना प्रविधि कम्पनी दर्ता गरेर विराटनगर घरायसी खुद्रा सामग्री बिक्री गरेको गराएको पाइएको छ ।
यो समूहले २०८२ कात्तिक २३ गते ‘तोङ आईटी ग्रुप प्राइभेट लिमिटेड’ कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गरेको थियो । तर, वर्षको २४ वटा सफ्टवेयर उत्पादन गर्ने दाबी गरेको यो समूहले आईटीको कुनै काम नगरी चीनबाट घरायसी सामान ल्याएर खुद्रा पसल चलाउँदै आएको प्रहरी स्रोतले बताएको छ ।
विराटनगरको सेन्ट्रल मलमा ६ वटा सटरमा सञ्चालनमा रहेको ‘योनो मार्ट’ दोलखा जिरीका धिरेन बिकेको नाममा दर्ता छ । बिकेलाई चिनियाँ समूहले ‘डमी’ साझेदार बनाएको प्रहरीको दाबी छ ।
नेपाल आउजाउ गरिरहेका जिंसियान सन् २०२६ जुलाई २२ मा बिजनेस भिसा लिएका थिए ।
उनीमाथि थप अनुसन्धानका लागि अध्यागमन विभागमा जिम्मा लगाउने मोरङ प्रहरी प्रमुख कटवालले बताए ।








