काठमाडौं । म्याग्दीको बेनी बजारमा पहिरोले १२ घरमा क्षति पुर्याएको छ। बेनी नगरपालिका–८ न्युरोडस्थित खोरियाको पाखोबाट बुधबार रातिदेखि बिहीबार बिहानसम्म तीन पटक पहिरो खसेपछि स्थानीयमा त्रास फैलिएको हो।
पहिरोसँगै आएको लेदो घरभित्र पस्दा ६ घर बस्नै नमिल्ने भएका छन् भने थप ६ घरमा आंशिक क्षति पुगेको नगरप्रमुख सुरत केसीले जानकारी दिए। जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ।
पहिरोका कारण बेनी बजारमा खानेपानी आपूर्ति गर्ने मुख्य पाइपलाइनसमेत क्षतिग्रस्त भएको छ। कृषि विकास बैंक र ग्लोबल आइएमई बैंकका महत्वपूर्ण कागजात तथा सामग्री पनि सुरक्षित स्थानमा सारिएको छ।
पहिरो प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सुरक्षाकर्मी परिचालन गरी स्थानीयका सामान सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ। करिब ३०० मिटर उचाइ, ५०० मिटर चौडाइ र १०० मिटर लम्बाइको क्षेत्रमा जमिन चिरिएको स्थानीयले बताएका छन्।
पहिरोका कारण न्युरोड र गणेशटोल क्षेत्रका करिब १०० घर थप जोखिममा रहेको बताइएको छ। घटनाको विस्तृत अध्ययनका लागि भूगर्भविद्को टोली पठाउने तयारी गरिएको छ। सम्भावित थप क्षति रोक्न स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ।








