-निशान निष्कर्ष
बारपाक सुलिकोट ८, गोरखा

केही वर्ष अगाडि कक्षामा पढाइरहेको बेला काठमाडौँ वल्र्ड स्कुलमा अध्ययनरत विद्यार्थी सद्भाव (नाम परिवर्तन)लाई मैले भनेँ, “बाबु अक्षर अलि राम्रो लेख्ने गर है । अनि वर्णविन्यास र वाक्य गठनमा पनि ध्यान देऊ ।” उसले सहजै उत्तर दियो, “सर अब यही एक वर्ष त हो नि हामीले नेपाली पढ्ने, त्यसपछि त नेपाली पढ्नै पर्दैन । अक्षर किन राम्रो चाहियो र ?” मैले उसलाई फेरि सम्झाउने भाषामा भनेँ, “त्यसो होइन नि, यो हाम्रो मातृभाषा हो, हाम्रो पहिचान हो । हामीले भाषालाई माया र संरक्षण गर्नुपर्छ ।” त्यसपछि केही दिन उसलाई मैले हस्तलेखन गराएँ तर समस्या समाधान भएन । अक्षर र वर्णविन्यासमा सुधार आएन । यस्तो लाग्यो, हामीले भाषाप्रति कस्तो संस्कार स्थापना ग¥यौँ र उनीहरू नेपाली भाषालाई हेयको नजरबाट हेर्छन् ।

विगत १५ वर्षदेखि म आफैले भोग्दै आएको समस्या हो यो । जुन दिन निजी विद्यालयमा अध्यापनका लागि प्रवेश गरेँ, त्यही दिनबाट विद्यार्थीहरूले यस्तै उत्तर भनेको सुन्दै आएको छु । हामी होइन भन्छौँ तर पनि सोचमा उच्चतम् तवरले परिवर्तन गराउन सकेका छैनौँ । नेपाली भाषाप्रति विद्यार्थीको यो धारणा म एक जना नेपाली शिक्षकका लागि मात्र चुनौती होइन, नेपालमा रहेका अधिकांश नेपाली शिक्षकहरूका लागि चुनौती भएर उभिएको छ । विशेषतः निजी विद्यालयहरूमा यस्ता प्रकारका समस्याहरू देखिन्छन् । फेरि सामुदायिक विद्यालयहरूमा यो समस्या छैन नै भनिएको चाहिँ होइन ।
भाषा र संस्कृतिले भरिपूर्ण छौँ हामी र नेपाली हुनुमा गर्वित छौँ । त्यही देखेर हुनुपर्छ कवि माधवप्रसाद घिमिरेले पनि ‘नेपाली हामी रहाँैला कहाँ नेपालै नरहे’ भनेर लेखेका । हामी आफू आँखाका नानी हौँ र देश आँखा हो हाम्रो । हामी त्यही आँखाको नानी बन्नलाई आँखा अर्थात् हाम्रो देश नेपालको संरक्षण गर्नुपर्छ । त्यसका लागि नेपाली वाङ्मयको हरेक पक्ष बलियो हुन जरुरी छ । नेपालको भाषिक र सांस्कृतिक पाटो अझ विश्वव्यापीकरण हुन जरुरी छ ।

कहाँ छन् त समस्याहरू;

नेपालमा बस्छौँ, नेपाली भाषा बोल्छौँ तर पनि लेख्य भाषा र कथ्य भाषामा हामी फरक छुट्याउन सक्दैनौँ । आफ्नो क्षेत्रका भाषिकाहरू बोल्न पाउनु त्यस क्षेत्रका बासिन्दाहरूको अधिकार हो । हामीले हेर्ने भनेको पहिलो त सरकारी तवरबाट भएका भाषाको प्रयोग, त्यसको उचित शुद्धता र त्यसले दिने अर्थ हो । नेपाली भाषा यस्तो भाषा हो, जहाँ एउटा शब्दमा ह्रस्व र दीर्घ इकार र उकार लगायौँ भने पनि अर्थको अनर्थ हुन जान्छ । त्यस्तो भाषालाई बोकेर बाँचेका हामी सरकारी तवरबाट नै त्यसको उचित प्रयोग र निरीक्षण भएको छैन । हाम्रो भाषाले पाएको पहिलो दुःख त्यहीँबाट सुरु हुन्छ । समय परिवर्तनशील छ र समयसँगै भाषा पनि परिवर्तन हुनुपर्दछ । हामी आज आएर भानुभक्तीय रामायणको भाषालाई बोलीचालीको र लेनदेनका रूपमा प्रयोग गर्न सक्दैनौँ । त्यस समयबाट आजको समयसम्म आइपुग्दा भाषामा विकास भएको छ । त्यही विकसित रूपलाई राम्रोसँग प्रयोग गर्न सक्यौँ भने भाषाको आफ्नो अस्तित्व रहन्थ्यो ।

म अध्यापन गराउने हुनाले विद्यार्थीहरूले नै सिक्ने विन्दुबाट कुरा गर्छु । हामी विद्यार्थीहरूलाई विभिन्न साहित्यिक बालपुस्तकहरू पढ्नका लागि प्ररित गर्छौँ । पत्रिका पढ्न भन्छौँ, टि. भी.मा समाचार हेर्न र सुन्न भन्छौँ । कुनै पनि सार्वजानिक स्थानमा र सरकारी कार्यालयहरूमा नेपाली भाषामा लेखिएका कुराहरू पढ्न भन्छौँ । उनीहरूले सिक्ने स्थान त्यही हो । उनीहरूले त्यहीँबाट भाषा अशुद्ध सिके भने हामीहरूले उनीहरूलाई त्यस्ता ठाउँमा नेपाली भाषामा लेखिएका कुराहरू पढ्न प्रोत्साहन गर्ने कि नगर्ने एउटा समस्या हो । बाल साहित्यिक पुस्तकहरूमा कति भाषाहरू अशुद्ध हुन्छन् । उनीहरूले पढ्दै गर्दा सोध्छन्, सर, यो किताबमा त मानविय लेखिएको छ, तर तपाईँले किन हामीलाई मानवीय सिकाउनु भएको ?(उदाहरणमात्रै यो) यी र यस्ता प्रश्नहरू अहिलेको पिढीले जानेर सोध्छन् वा नजानेर ? तथापि उनीहरूको प्रश्न उपयुक्त हो भन्ने लाग्छ ।

तपाईँ यदि कुनै बेलामा त्रि. वि. शिक्षण अस्पताल जानुभयो भने त्यहाँको अरु कुनै स्थानमा हेर्नुपर्दैन । कोठा नं. ए सातमा गएर हे¥यौँ भने त्यहाँ लेखिएको छ, टिकट याहाँ दिनुहोला । यो अज्ञानता कि बेवास्ता ? हामीले देखेका हुन्छौँ, नेपाल टेलिभिजनदेखि लिएर अन्य टेलिभिजनहरूमा स्क्रिनमा लेखिएका अक्षरहरू । कति धेरै अशुद्ध हुन्छन् ? यसमा कसको चासो पुगेको छ । बेलाबेलामा केही साथीहरूले सरकारी कार्यालयको विज्ञप्तिमा अशुद्धतालाई इङ्कित गरी फेसबुकका भित्तामा राखेर विरोध गरिरहेका हुन्छन् । त्यसरी सरकारी कार्यालयबाट निस्कने विज्ञप्तिहरू त्यति धेरै अशुद्ध हुनु नेपाली भाषाप्रतिको उदासीनता र हेपाहा शैली हैन र ? विश्वविद्यालयहरूका धेरै विषयका पाठ्यक्रम छन् । कुनै पनि पाठ्यपुस्तकहरू निश्चित छैनन् । कुनै पनि व्यक्तिले आफ्नो अनुकूलतालाई हेरेर पुस्तक प्रकाशन गरिरहेका हुन्छन् र छन् । अरु विषयका पुस्तकका कुराहरू त छाडिदिऔँ, नेपाली विषयकै सहायक सामग्री भनेर निस्किएका पुस्तकहरूमा यति धेरै त्रुटिहरू भेटिन्छन् । भाषाप्रति चासो गर्ने र नेपाली भाषालाई नै भोलिको सपना बनाएर पढ्ने विद्यार्थीहरूले त आफूलाई सुधारेर पढ्लान् र लेख्लान् तर तह उत्र्तीण गर्नकै लागि पढेका विद्यार्थीहरूले किताबमा जस्तो छ त्यस्तै लेख्दैनन् र ?

कसले निकाल्ने समाधान;
भाषा राष्ट्रको गहना हो । भाषा बलियो भयो भने देशले विश्वसामू आफ्नो परिचय बनाउन सक्छ । आज त्यसैको ज्वलन्त उदाहरण हो अङ्ग्रेजी भाषा र त्यसले विश्वसामू पारेको प्रभाव । हरेक भाषाको आफ्नै व्याकरण हुन्छ, आफ्नै मानक हुन्छ र त्यसले आफ्नो औचित्य निर्माण गर्छ । औचित्य निर्माण गर्न सकेका भाषाहरू नै आज जीवित छन् । हामी नेपाली पनि आफ्नै स्वतन्त्र भाषा, सबल व्याकरण र सक्षम मानक बोकेर बाँचेका छौँ । त्यही भाषाले गर्दा पनि हामी नेपाली हौँ भनेर उल्लास बनाउँछौँ । यति आशा गर्न सक्छौँ, जुन दिनसम्म नेपाली भाषा रहन्छ त्यो दिनसम्म नेपाली र नेपाली हुनुको पहिचान रहन्छ ।

भाषाका बारेमा हामी यति गर्वित हुन्छौँ र पनि निकै चिन्तित हुने समय आएको छ । आजका धेरै किशोर किशोरी र युवा पुस्ताको उद्देश्य विदेश पलायन नै रहेको छ । त्यसैले पनि हामी विद्यालयमा नानीहरूलाई नेपाली भाषा बोल्दा पैसा जरिवाना गर्छौँ र उनीहरूलाई नेपाली भाषाप्रति निरुत्साहित गर्छाैँ । घरमा अभिभावकहरूलाई अङ्ग्रेजीवाजको लहैलहै चढेको हुनाले छोराछोरीहरूले घरमा नेपालीभन्दा अङ्ग्रेजी बोलिदिए हुने थियो भन्ने मानसिकता छ । त्यसैकारणले पनि केटाकेटीहरू जानी नजानी अङ्ग्रेजी भाषा बोल्न बाध्य भएका छन् । हामी नेपाली भाषालाई सबल बनाउँछौँ भने पहिलो कुरा त कुनै पनि निजी विद्यालयहरूमा समेत नेपाली भाषाबाहेक अन्य कुनै एउटा विषय नेपाली भाषामा पढाउनुपर्ने नियम बनाउन सक्यौँ भने कम्तीमा नेपाली भाषाप्रतिको माया पलाउने थियो कि ? साथै अभिभावकले पनि नेपाली भाषालाई घरमा समेत स्थान दिएमा र आफ्ना नानीबाबुहरूलाई नेपाली भाषाको महत्व बुझाउन सक्नुपर्ने देखिन्छ ।

हामी कुरा ठुलो गर्छौँ । साना कुराहरूमा जुँगाको लडाइँ गर्छाैँ । हामीसँग भएको प्रज्ञा प्रतिष्ठान नामक संस्थाले नेपाली वाङ्मयकै लागि भनेर वर्षैपिच्छे करोडौँ रकम खर्च गरेको देखिन्छ । अनि त्यहीँबाट सुरु हुन्छ, आफू अनुकूल भाषाको निर्माण । कम्तीमा भाषाको एउटा मापदण्ड बनाइसकेपछि त्यसलाई लागू गर्न सक्ने हो भने भाषामा यसरी अशुद्धता आउने थिएन कि ?

नेपाली भाषामा हामीले आफूलाई निख्खार्नुपर्छ भन्ने धारणा धेरै मानिसको छैन । कुनै पनि निजी होस् वा सरकारी संस्था सञ्चालन गर्दा कम्तीमा एक जना भाषा हेर्न सक्ने मानिसलाई नियुक्त गर्नुपर्ने अनिवार्यता राज्यस्तरबाट निर्णय भयो भने भाषाले यसरी बिर्गनुपर्ने थिएन कि ? हामी देख्छौँ, नेपालका केही ठुला मिडियाहरूले त कम्तीमा भाषाका लागि केही मानिसहरूलाई नियुक्त गरेका छन् । तर पछिल्लो समयमा खुलेका धेरै अनलाइनहरूको भाषाको अवस्था हेर्ने हो भने दया लाग्दो नै छ । यसरी भाषालाई जसरी लेखे पनि हुन्छ भनेर छाड्ने हो भने त ठिकै छ, होइन भने भाषाको संरक्षण र संवद्र्धनमा आजैबाट सरकारी निकाय, निजी स्तरका भाषामा नै काम गर्ने संस्थाहरू र विद्यालय विश्वविद्यालयहरूले सक्रिय र जिम्मवारीपूर्ण भूमिका निर्वाह गर्नुपर्छ । आजकै सन्दर्भ र कार्यशैलीले कुनै दिन नेपाली भाषाको अस्तित्व आजको संस्कृत भाषाको तहमा नपुग्ला भन्न सकिन्न । हामीले भाषालाई सदा संरक्षण गर्नुपर्छ भन्ने भावलाई जीवित राख्ने हो भने नेपाली भाषामा प्रकाशित छापा र अनलाइनहरू शुद्ध हुनुपर्छ भन्ने नियम अनिवार्य भएमा त्यसको समाधानमा धेरै सहजता पक्कै आउने छ ।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय