काठमाडौँ । नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले सरकारद्वारा निर्मित आधारभूत अस्पतालहरूमा दरबन्दी, उपकरण र औषधिको चरम अभावका कारण सेवा सञ्चालन हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
शुक्रबारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले नागरिकको स्वास्थ्य सेवाको अधिकार सुनिश्चित गर्न सरकारसमक्ष १० बुँदे प्रश्न र ७ बुँदे ठोस प्रस्ताव पेस गरे। सांसद केरुङले आफ्नो निर्वाचन क्षेत्र पाँचथरको ग्रामीण बस्तीमा देखिएको स्वास्थ्य सेवाको दयनीय अवस्थाबारे सदनलाई अवगत गराए। सङ्घीय सरकारले ६५७ वटा आधारभूत अस्पताल निर्माणको घोषणा गरे पनि ती भवनहरूमा बिरामीले समयमा उपचार पाउन नसकेको भन्दै उनले कडा आलोचना गरे। सङ्घ, प्रदेश र स्थानीय तहबीच जिम्मेवारी बाँडफाँटमा स्पष्टता नहुँदा स्वास्थ्य प्रणाली नै धराशायी बनेको आरोप उनले लगाए।उनले भने, ‘हामीले अस्पताल बनायौँ कि केवल भवन? आज ग्रामीण क्षेत्रका स्थानीय तहहरूसँग अस्पताल चलाउन न त पर्याप्त आर्थिक स्रोत छ, न चिकित्सक वा स्वास्थ्यकर्मीको दरबन्दी नै दिइएको छ।’महालेखा परीक्षकको प्रतिवेदनलाई उद्धृत गर्दै सांसद केरुङले निर्माण सम्पन्न भइसकेका धेरै अस्पतालहरू आवश्यक जनशक्ति र मेडिकल उपकरणको अभावमा उपयोगविहीन बनेर थन्किएको स्मरण गराए। तीनै तहका सरकारबीच समन्वय कायम गरी ग्रामीण क्षेत्रका आधारभूत अस्पतालहरूमा तत्काल चिकित्सक, उपकरण र औषधिको प्रबन्ध मिलाउन उनले सरकारसँग माग गरेका छन्।








