बलिउड अभिनेत्री नुसरत भरुचा इन्डोनेसियाको बालीमा दुर्घटनामा परी गम्भीर घाइते भएकी छन्। काम र भ्रमणका लागि बाली पुगेकी उनको दुर्घटनामा परेर ढाडमा ‘स्पाइनल फ्र्याक्चर’ भएको हो।

उनी हाल बालीस्थित एक अस्पतालमा चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचाररत छिन्। उनको टोलीले चिकित्सकहरूसँगको परामर्शपछि थप उपचार र शल्यक्रियाका लागि उनलाई एयर एम्बुलेन्समार्फत मुम्बई ल्याउने तयारी गरिरहेको छ।सुरुमा उनी दुर्घटनामा परी घाइते भएको र अस्पतालमा उपचार भइरहेको खबर आए पनि चोटको प्रकृतिबारे सार्वजनिक गरिएको थिएन। पछि उनको टोलीले विज्ञप्ति जारी गर्दै उनको ढाडको हड्डी भाँचिएको र शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको पुष्टि गरेको हो।अभिनेत्रीको स्वास्थ्य र तत्काल आवश्यक चिकित्सा सेवालाई नै प्राथमिकतामा राखिएको उनको टोलीले जनाएको छ। चोटको प्रकृति र शल्यक्रियापछि उनलाई निको हुन लामो समय लाग्ने भएकाले आगामी केही साताका लागि तय भएका उनका सबै व्यावसायिक कार्यक्रमहरू प्रभावित हुनेछन्।

दुर्घटना कसरी र कहिले भयो भन्नेबारे टोलीले केही खुलाएको छैन। स्वास्थ्य लाभमा ध्यान केन्द्रित गर्नुपर्ने भएकाले उनको टोलीले गोपनीयताको सम्मान गरिदिन आग्रह गर्दै प्रशंसक र शुभचिन्तकहरूलाई धन्यवाद दिएको छ।

नुसरतले एक साताअघि मात्रै बाली भ्रमणका तस्बिरहरू सामाजिक सञ्जालमा सेयर गरेकी थिइन्। उनी भर्खरै कोरियोग्राफर तथा निर्देशक रेमो डिसुजाको निर्देशनमा बन्न लागेको र टाइगर स्रोफको मुख्य भूमिका रहने एक्सन फिल्ममा अनुबन्धित भएकी थिइन्। यो फिल्ममा नुसरत र टाइगर पहिलो पटक एकसाथ देखिन लागेका हुन्।

फिल्ममा पश्मिना रोशन, अभिषेक बनर्जी र एल्भिस यादव पनि मुख्य भूमिकामा रहने बताइएको छ। नुसरतले सन् २००६ मा ‘जय सन्तोषी माँ’ बाट बलिउडमा कदम राखेकी थिइन्।

त्यसपछि ‘लभ सेक्स और धोखा’ मा देखिएकी उनको मुख्य पहिचान भने लभ रञ्जनको ‘प्यार का पञ्चनामा’, ‘प्यार का पञ्चनामा २’ र ‘सोनु के टिटु की स्विटी’ बाट बनेको हो।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय