काठमाडौं : आइसीसी टी–२० विश्वकप एसिया छनोटको तयारीका लागि नेपाल आएको भुटान अन्तिम खेलमा क्यान ११ सँग १०४ रनले पराजित भएको छ।
पोखरा रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको क्यान ११ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७६ रन बनाएको थियो। क्यान ११ ले दिएको १७७ रनको विजयी लक्ष्य पछ्याएको भुटान १७.३ ओभरम ७२ रन बनाउँदै अलआउट भयो। भुटानका लागि सोनम चोपेल, ताशी फुन्सो र आनन्द मोंगरले समान १५/१५ रन बनाए। ओपनर नाम्गे थिन्लेले १३ रन बनाउँदा अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपालको लागि बलिङतर्फ, स्पिनर विपिन शर्माले सर्वाधिक ५ विकेट लिए। उनले ४ ओभरमा ७ रनमात्रै खर्चिए। आकाश चन्दले २ विकेट लिँदा रासिद खान, प्रशिद्ध जैशी र विपिन खत्रीले १–१ विकेट लिए। त्यसअघि, पहिलो इनिङ्समा ब्याटिङ गरेको क्यान ११ को लागि ओपनर ब्याटर तृतराज दासले सर्वाधिक ५१ रनको अर्धशतकीय पारी खेले। उनले ३१ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। अर्का ओपनर मयंक यादवले २६ रन बनाए। सिर्बिन श्रेष्ठले १९, रासिद खानले २४ रन बनाउँदा कप्तान विपिन खत्री ३८ रनमा अविजित रहे। भुटानको लागि आनन्द मोंगरले सर्वाधिक ३ विकेट लिए। गकुल कुमार घलेलले २ विकेट लिँदा सोनम याश्ले र नाम्गे थिन्लले १–१ विकेट लिए। पहिलो २ खेलमा गण्डकी प्रदेशसँग हार बेहोरेको भुटानले तेस्रो खेलमा क्यान ११ सँग हार बेहोरेको थियो।








