काठमाडौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग ‘कनेक्सन’ देखिएका पात्रहरूलाई प्रहरीले सोधपुछ र निगरानी गरिरहेको छ ।
महाराजगञ्जबाट नियन्त्रणमा लिएर असोज ११ मा बिहान प्रहरीले जबरालाई टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा लगेको थियो । प्रहरीले उनलाई सुरक्षा चुनौती देखिएपछि नियन्त्रणमा लिएको दाबी गर्दै आएको छ । तर, घटनाक्रमले चोलेन्द्रमाथि थप अनुसन्धान भइरहेको देखाएको छ ।बुधबार मध्याह्न साढे १ बजेतिर इनाम सापकोटा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नयाँ दिल्ली जाँदै थिए । सादा पोसाकमा गएका प्रहरीले उनलाई पक्राउ गरे । बुढानिलकण्ठ घर भएका सापकोटा पानीपोखरीस्थित हाउजिङमा बस्छन् । चोलेन्द्रसँग ‘कनेक्सन’ देखिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।चोलेन्द्रलाई नियन्त्रणमा लिएर उनको मोबाइल जाँच गर्दा इनामसँग बाक्लो सम्पर्क देखिएपछि उनी प्रहरीको निशानामा परेका थिए । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी शरत थापा र डीएसपी योगराज खतिवडाले उनको मोबाइल जाँच गरेका थिए । करिब १२ घण्टा प्रहरीको नियन्त्रणमा रहेका जबरालाई छाड्ने बेला मोबाइल जिम्मा दिइएको थियो ।
जबरासँग बाक्लो सम्पर्क देखिएपछि विशेष ब्यूरोले पक्राउ गरेर सापकोटालाई केरकार गरेको थियो । उनलाई प्रहरी प्रधान कार्यालयमा लगेर सोधपुछ गरिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए । ती अधिकृतका अनुसार सापकोटाले प्रहरीसँग भनेका छन्, ‘चोलेन्द्रले मलाई प्रयोग गरे ।’
लामो समय सोधपुछ गरेर मोबाइलको विवरण हेरेपछि विशेष ब्युरोले उनलाई छाडेको छ । सम्पत्ति शुद्धीकरणको मुद्दामा पुर्पक्षमा रहेका व्यावसायी दीपक भट्ट र सुलभ अग्रवालसँग सापकोटामार्फत चोलेन्द्रको कुराकानी हुने गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । नक्खु कारागारमा रहेका दिपक भट्ट र सापकोटाको बिचमा फोन सम्पर्क भएको प्रमाण भेटिएको प्रहरी अधिकृतहरू बताउँछन् । भट्ट र अग्रवालसँगको डिलमा चोलेन्द्रका छोराको पनि संलग्नता देखिएको छ ।
इनाम र चोलेन्द्रको बिचमा ह्वाट्स एपमा कुराकानी हुने गरेको भेटिएको छ । इनामको ह्वाट्स एपमा रकमको ट्रान्जेक्सन भएको विवरण भेटिएको छ । रकम ट्रान्सफर भएको विवरण उनले आफ्ना एकजना सहकर्मीलाई पठाएको भेटिएको छ । आफ्ना सहकर्मीलाई उनले म्यासेजमा लेखेका छन्, ‘५० लाख रकम आएको छ ।’ तर, चोलेन्द्रको बैंक खातामा सापकोटाले रकम पठाएको भेटिएको छैन ।
प्रहरी स्रोतका अनुसार चोलेन्द्रले भने अनुसार इनामले ‘बिचौलिया’को काम गर्दै आएका थिए । पछिल्लो समय भट्ट र अग्रवालको मुद्दा सल्टाउन उनीहरूसँग पुलको काम सापकोटाले गरेको देखिएको छ । कारागारबाट भट्टले उनलाई फोन गरेको विवरण प्रहरीले फेला पारेको छ ।
२०७५ पुस १८ देखि प्रधानन्यायाधीशको कार्यभार सम्हालेका जबरा २०७८ फागुन १ मा संसदमा महाअभियोग दर्ता भएपछि निलम्बनमा परेका थिए । नेपालको न्यायिक इतिहाँसमा प्रधान न्यायाधीश पक्राउ परेको यो पहिलो घटना हो । प्रहरीका एक जना उच्च अधिकृतले जबरालाई थुनामुक्त गरिएपनि उनीसँग जोडिएको विषयमा अनुसन्धान गर्ने काम भइरहेको रातोपाटीसँग बताए ।
ती अधिकृतले भने, ‘उहाँबारे थप बुझ्ने काम भइरहेको छ ।’








