काठमाडौँ । अभिनेता अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जून’ आगामी २६ कार्त्तिकमा प्रदर्शन हुने भएको छ । निर्माण ब्यानर सनराइज पिक्चरले चलचित्रको टिजर सार्वजनिक गर्दै प्रदर्शन मिति पनि जानकारी दिएको हो ।
टिजरले चलचित्रको परिवेश र कथाका आयामहरूको झलक मात्र प्रस्तुत गरेको छ । कथाको बारेमा पूरा जानकारी नदिएर टिजरले ‘टिज’ गर्नुपर्ने मान्यतालाई आत्मसात गर्दै चलचित्र भित्र रहेको क्यान्डिड सटलाई स्थान दिइएको छ ।
‘बाटुलो जून’ ३० को दशकमा आधारित प्रेमकथामा बनेको चलचित्र हो । चलचित्रले एउटा आदर्श प्रेमलाई केन्द्रमा राख्दै त्यतिबेलाको सामाजिक परिवेश, जीवनशैली र प्रेम गर्ने तौरतरिकालाई समेत पर्दामा उतार्ने प्रयास गरेको छ । अहिलेको प्रविधिमैत्री यूगमा र तीव्र गतिमा बदलिएको प्रेमभन्दा फरक, त्यो समयको प्रेम र समाजलाई चलचित्रले कथानकमा समेटेको छ ।
अभिनेता भुवन केसीको निर्देशन रहेको चलचित्र अनमोल र भुवनको अलवा प्रिन्सी खतिवडाको मुख्य भूमिकामा अभिनय छ । बेल्जियममा बसोबास गर्दै आएकी अभिनेत्री गरिमा पन्तले पनि पुनरागमन गरेकी छन् । चलचित्रलाई सामीप्यराज तिमल्सेना र सरिन पोखरेलले लेखेका हुन् ।
चलचित्रमा राजेश श्रेष्ठको छायाङ्कन, कृष्ण भण्डारीको सम्पादन, रोमन बज्राचार्यको पार्श्व संगीत रहेको छ । चलचित्रमा प्रदीप श्रेष्ठ एसोसिएट निर्देशकको रूपमा रहेका छन् । चलचित्र ‘बाटुलो जून’लाई जिया केसी र भविष्य खड्काले निर्माण गरेका हुन् । विवेक थापा चलचित्रका सह–निर्माता रहेका छन् ।








