काठमाडौं । १५ असोज राति रुपन्देही तिलोत्तमा नगरपालिका–१० दरखसवाकी १० वर्षीया बालिका ५ वर्षीय भाइसँग आफ्नै घरमा सुतिरहेकी थिइन् । हजुरबुवा र हजुरआमासमेत एउटै कोठामा थिए ।
राति करिब ३ बजेतिर हजुरबुवा शौच गर्न उठे । र, नातिनातिनालाई ब्ल्यांकेट ओढाइदिन खोजे । तर त्यतिबेला थाहा भयो, १० वर्षकी नातिनी ओछ्यानमा छैनन् ।
हजुरबुवा आत्तिए । श्रीमतीलाई उठाए । चिच्याएर नातिनीलाई बोलाए । घर वरपर खोजी भयो । तर कतै भेटिइनन् ।
हो–हल्ला सुनेपछि छरछिमेकी पनि उठे । एउटै कोठामा राति सँगै सुतेकी नातिनी एकाएक गायब भएपछि उनी आत्तिएका थिए । राति नै इलाका प्रहरी कार्यालय मंगलवालाई जानकारी गराइयो ।
इलाका प्रहरी कार्यालय मंगलवाबाट इन्स्पेक्टर ज्ञानेन्द्र चन्दको टोली राति नै पीडितको घर पुग्यो । प्रहरी र गाउँले मिलेर खोजी सुरु भयो । वरपरका घर, छरछिमेक, झाडी, खेतबारीतिर राति नै बालिकाको खोजी भयो । खोज्दाखोज्दै उज्यालो भयो । केही पत्ता लागेन ।
इलाका प्रहरी कार्यालय बुटवलबाट समेत टोली परिचालन भयो । बुटवलबाट डीएसपी निशान्त श्रीवास्तवको टोली परिचालन भएको थियो । सादा पोशाकसहितको श्रीवास्तवको टोली परिचालन भएर अनुसन्धान थाल्यो ।
जिल्लाबाट पनि प्रहरी टोली खटियो । प्रदेश प्रहरी कार्यालय भैरहवा र लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट डीआईजी भुपेन्द्र खत्रीले पीआईटी टोली पनि परिचालन गरे ।
स्थानीय इलाका प्रहरीदेखि जिल्ला प्रहरी हुँदै प्रदेश प्रहरीको टोलीसमेत परिचालन भएर खोजीमा सक्रिय भयो । केही पत्ता लागेन ।
१४ गते मात्रै भारतबाट हजुरबुवा–हजुरआमासँग घर आएकी बालिका मध्यराति एकाएक बेपत्ता भएको खबरपछि प्रहरी पनि अचम्मित हुँदै खोजी तथा अनुसन्धानमा सक्रिय भयो ।
प्रहरीले प्राविधिक र ह्युम्यान इन्टेलिजेन्स दुवैको कोणबाट अनुसन्धान अघि बढायो । भारतबाट घर आएकै राति बालिका बेपत्ता हुनुनमा चिनेजानकै व्यक्तिको संलग्नता हुनसक्ने विश्लेषण प्रहरीले गर्यो । वरपरका आपराधिक पृष्ठभूमिका व्यक्तिको अवस्थाबारे पनि प्रहरीले अनुसन्धान अघि बढायो ।
शंकाको घेरामा देखिए सोही ठाउँका विशाल भनिने युवराज थारु । तर थारुलाई शंका गरेर खोजी गर्दा पनि केही फेला परेन । पोखरीदेखि, खेतबारी जंगलमा समेत प्रहरीले सर्च अपरेसन चलायो । बालिकको खोजीमा करिब १५० जना प्रहरी निरन्तर खटिएको डीआईजी भुपेन्द्र खत्री बताउँछन् ।
शंका गरिएका व्यक्ति विशाल प्रायजसो जंगलमै बस्ने गरेको प्रहरीले जानकारी पायो । त्यसपछि जंगल केन्द्रित थप सर्च अपरेसन प्रहरीले चलायो । सो क्रममा ३७ घण्टापछि तिलोत्तमा–१० कै चक्रहवा जंगलमा संकित व्यक्ति देखा परेको भन्ने जानकारी प्रहरीले पायो ।
त्यसपछि प्रहरीले जंगल केन्द्रित सर्च अपरेसनलाई झनै व्यापक बनायो । जंगल अपरेसनमा ५५ जनाको प्रहरी टोली र गाउँका स्थानीय समेतको सहयोगमा स्विप अपरेसन नै चलाइएको डीआईजी खत्री बताउँछन् ।
त्यतिबेला सशंकित व्यक्ति विशाल फेला नपरेको तर बेपत्ता भएकी १० वर्षीया बालिका जंगलमा एक्लै फेला परेको डीआईजी खत्रीले बताए । ३७ घण्टापछि १६ असोजको दिउँसो ३ बजेतिर बोल्नसमेत नसक्ने अवस्थामा ती बालिका फेला परेकी थिइन् ।
प्रहरीले तत्कालै उद्धार गरी उनलाई लुम्बिनी प्रादेशिक अस्पताल पुर्याएको थियो । उद्धार गरिएकी बालिकाई राति इलाका प्रहरी कार्यालय बुटवलको सेफ हाउसमा राखियो । अर्को दिन आफन्तको जिम्मा लगाइयो ।
बालिका उद्धार गरिए पनि अपहरण गर्ने व्यक्ति भने पक्राउ परेका थिएनन् । प्रहरीले उनको खोजी पनि व्यापक बनायो । खोजी गर्ने क्रममा तिलोत्तमा–१० शान्तिनगरका विशाललाई १८ असोज बिहानपख तिलोत्तमा–१७ स्थित दरखसवाको धानबारीमा फेला पार्यो ।
प्रहरीले घुँडामुनि गोली हानेर उनलाई पक्राउ गरेको छ । घाइते विशालको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनीबाट चक्कु र फलामे रडसमेत बरामद भएको प्रहरीले बताएको छ ।
पक्राउ परेका विशाल प्राय: जंगलमै खाने, सुत्ने गरेको गाउँलेले प्रहरीलाई बताएका छन् । ३७ घण्टासम्म अपहरणमा परेकी बालिकालाई जंगलमा राखेर उनले एक्लै राखेको अहिलेसम्मको अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ ।








