काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक दल कुनै नेताको निजी कम्पनी नभई सार्वजनिक सम्पत्ति भएको बताएका छन्।
शुक्रबार काठमाडौँमा आयोजित आफूलाई सम्मान गर्ने कार्यक्रममा बोल्दै सभापति थापाले पार्टीलाई व्यक्तिगत स्वार्थ र आचरणबाट टाढा राख्नुपर्नेमा जोड दिएका हुन् ।
उनले दलहरू पब्लिकको प्रोपर्टी भएकाले यसमा आम जनता र कार्यकर्ताको समान हक लाग्ने बताए। ‘पार्टी कुनै नेताको प्राइभेट कम्पनी होइन। यो सार्वजनिक सम्पत्ति हो, जसमा सबैको बराबर हक लाग्छ,’ थापाले भने।
कार्यक्रममा थापाले व्यक्तिको आचरण र पार्टीको सिद्धान्तलाई अलग–अलग राखेर हेर्नुपर्ने बताए। यदि पार्टीका नेताको व्यक्तिगत आचरणमा प्रश्न उठ्छ भने त्यसको जबाफदेही सम्बन्धित व्यक्ति नै हुनुपर्ने उनको स्पष्टोक्ति छ।
नले भने, ‘खराब आचरण व्यक्तिको हुन्छ, पार्टीको हुँदैन। यदि मेरो आचरणमा प्रश्न उठ्यो भने त्यसको प्रतिवाद मैले गर्ने हो, पार्टीले गर्ने होइन ।’ उनले व्यक्तिगत जीवनका विषयलाई कांग्रेसको संस्थागत दायित्वसँग जोड्न नहुने तर्कसमेत गरे।
थापाले कांग्रेसभित्र रहेका विकृति र विसङ्गतिलाई आफूहरूले क्रमशः सुधार गर्दै लैजाने प्रतिबद्धता जनाए। पार्टीभित्र देखिएका कमी–कमजोरीलाई उनले ‘फोहोर’ को संज्ञा दिँदै त्यसलाई सफा गर्दै अघि बढ्ने बताए।
‘पार्टीभित्रका समस्या र फोहोरलाई हामी सफा गर्दै लैजान्छौँ,’ उनले भने।








