काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य राजीव खत्रीले भक्तपुरको गुन्डुमा गएको पहिरोलाई जोडेर आफूविरुद्ध अनर्गल तथा कपोकल्पित प्रचार गरिएको बताएका छन्।
शुक्रबार नेपाल प्रेस सोसाइटीद्वारा आयोजित दसैँ विशेष स्मारिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद खत्रीले जिल्लाकै पूर्वमन्त्री तथा नेकपा एमालेका नेता महेश बस्नेततर्फ इङ्गित गर्दै उक्त टिप्पणी गरेका हुन्।
आफू निर्वाचित हुनुभन्दा धेरै अघि नै उक्त पहिरो गएको उल्लेख गर्दै उनले भने, ‘अस्ति एकजना हाम्रै पूर्वमन्त्री भइसक्नुभएको व्यक्तिले मेरो नाम जोडेर पहिरोको कुरा गरिरहनुभयो। म आएपछि गुन्डुको पहिरो आएको हो र? त्यो पहिरो आएको १०-१२ वर्ष भइसकेको छ।’
सांसद खत्रीले उतिबेलै दिगो विकास र नियन्त्रणको काम नगरेका कारण अहिले राज्यको ठुलो धनराशि खर्च भइरहेको बताए। उतिबेलै रोकथाम नगरेकाले आज राज्यको ठुलो खर्च भएको र अरू नक्कली काम गर्दा धेरै पैसा पहिरोले बगाएको भन्दै पहिले नै दिगो विकास नगर्नु उहाँहरूकै गल्ती भएको उनले टिप्पणी गरे।
त्यस्तै १० वर्षअघि आएको उक्त पहिरो नियन्त्रणको काम यो वर्ष वर्षाअगावै हुने प्रतिबद्धतासमेत सांसद खत्रीले व्यक्त गरे।








