काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको कार्यशैली र संगठन निर्माणको तरिका बदल्नुपर्नेमा जोड दिँदै आफूलाई पार्टीका नियमित प्रशासनिक कामबाट अलग राख्ने घोषणा गरेका छन्।
शुक्रबार काठमाडौँमा आयोजित नेपाल पेसाकर्मी अभियान परिषद्को कार्यक्रमलाई सम्बोधन गर्दै उनले बीपी कोइराला र गणेशमान सिंहको पालाका मुद्दाले आजको समाजको प्रतिनिधित्व गर्न नसक्ने भन्दै अबको कांग्रेस समसामयिक प्रश्नहरूको हल खोज्न तल्लीन हुनुपर्ने बताएका हुन्।
थापाले आजको नेपाली समाजका चुनौतीहरूलाई सम्बोधन गर्न ‘समुन्नति’ को अवधारणा अघि सारेका छन्। सोसल मिडियाको ‘रिल्स’ पछाडि मात्र कुदेर नहुने भन्दै उनले बन्द कोठामा छलफल र चिन्तन आवश्यक रहेको औँल्याए।
पर्यावरण, आर्थिक विकास, सुशासन र प्रजातान्त्रिक अधिकारलाई सँगसँगै लैजान समुन्नतिको ध्येय राख्नुपर्ने बताउँदै उनले नागरिकका आकाङ्क्षा पूरा गर्नसक्ने पार्टीका रूपमा कांग्रेसलाई स्थापित गर्नु आफ्नो मुख्य उद्देश्य रहेको स्पष्ट पारे।
आफूलाई पार्टीका नियमित कामहरूबाट अलग राखेर वरिष्ठ उपसभापति र महामन्त्रीहरूले पार्टीको दैनिकी हेर्ने व्यवस्था गर्ने योजना रहेको थापाले सुनाए। आफू भने देशभर घुम्ने र नागरिकका कुरा सुन्ने बताएका छन्। कुनै पनि नेता वा कार्यकर्ताको निजी जीवनका गतिविधि र आचरणका लागि पार्टीलाई जिम्मेवार बनाउन नहुने जिकिर उनले गरे।
सो क्रममा बोल्दै थापाले भने, ‘नेपाली कांग्रेसले आजको समाजका आवश्यकता, जनताका प्रश्न र समसामयिक मुद्दाहरूलाई सम्बोधन गर्दै अघि बढ्नुपर्छ। सामाजिक सञ्जालमा मात्र केन्द्रित नभई छलफल, बहस र चिन्तनमार्फत समस्याको समाधान खोज्नुपर्छ।’
नागरिकका आकाङ्क्षा पूरा गर्न आफूलाई पार्टीका नियमित कामभन्दा बाहिर रहेर देशभरिका नेता, कार्यकर्ता र नागरिकसँग भेटघाट गर्ने तथा उनीहरूका कुरा सुन्ने अवसर दिनुपर्ने उनको भनाइ थियो।
पार्टीका सदस्यको व्यक्तिगत आचरण र आर्थिक पारदर्शिताको जिम्मेवारी सम्बन्धित व्यक्तिले नै लिनुपर्ने भन्दै कसैको व्यक्तिगत कमजोरीको दोष पार्टीले बोक्नु नहुने उनले बताए। सञ्चारमाध्यमहरूलाई पनि आग्रह गर्दै उनले कुनै व्यक्तिको व्यक्तिगत कमजोरी जोडेर सिङ्गो पार्टीलाई नै दोषी नठहराउन अनुरोध गरे।
यसैगरी सभापति थापाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा पराजित वा छुटेका योग्य नेतृत्वलाई समेटेर अघि बढ्ने प्रतिबद्धता जनाए। पार्टीको आन्तरिक निर्वाचनलाई जित र हारको अन्तिम मानकका रूपमा नहेर्न आग्रह गर्दै उनले छुटेका साथीहरूलाई समेटेर सामूहिक नेतृत्व र सहकार्यका साथ पार्टीलाई अगाडि बढाउने बताए। पार्टीभित्रको एकता नै अहिलेको मुख्य आवश्यकता रहेको भन्दै उनले गुटगत प्रभावभन्दा माथि उठेर काम गर्ने सङ्केत गरे।








