काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्।

शुक्रबार ७१ औँ प्रहरी दिवसको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले नागरिकमैत्री व्यवहार, निष्पक्ष अनुसन्धान र जवाफदेहितालाई आत्मसात गर्दै भ्रष्टाचार, शक्तिको दुरुपयोग र पक्षपातविरुद्ध शून्य सहनशीलता अपनाउन प्रहरी कर्मचारीलाई निर्देशन दिएका हुन्।

गृहमन्त्री गुरुङले साइबर अपराध, वित्तीय अपराध र आधुनिक अनुसन्धान प्रविधिमा क्षमता बढाउँदै नागरिकको विश्वास जित्न आवश्यक रहेको बताए। प्रहरीको बर्दी डरको होइन, आशा, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्नेमा उनले जोड दिए। सो क्रममा बोल्दै उनले भने, ‘सही कार्य गर्ने प्रहरीको साथमा सरकार सधैँ रहनेछ, तर गलत कार्यको संरक्षण गरिनेछैन।’

उनले सात दशक पुरानो प्रहरी ऐनलाई विस्थापन गरी समयसापेक्ष र व्यावसायिक संगठन निर्माणका लागि नयाँ प्रहरी विधेयक अगाडि बढाएको जानकारी दिए। सरुवा–बढुवालाई प्रणालीगत बनाउँदै हाकिमलाई रिझाउने प्रवृत्तिको अन्त्य गरिने र सेवा अवधिसम्बन्धी विषयमा समेत समयानुकूल परिमार्जन गरिने घोषणा गृहमन्त्रीले गरे। साथै संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) मार्फत प्रहरीमा आवश्यक दरबन्दी थप गर्न प्रस्ताव अघि बढाइएको उनले बताए।

अनुसन्धान पद्धतिलाई वैज्ञानिक बनाउन आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डिजिटल फोरेन्सिक, साइबर अनुसन्धान र डीएनए प्रोफाइलिङजस्ता आधुनिक प्रविधिमा लगानी बढाउनु सरकारको पहिलो प्राथमिकता रहेको गृहमन्त्रीको भनाइ छ।

नयाँ दिल्लीमा सम्पन्न बिम्स्टेक सदस्य राष्ट्रका गृहमन्त्रीस्तरीय बैठक र भारतीय समकक्षीसँगको वार्ताबारे स्मरण गर्दै उनले सीमापार तथा अन्तरदेशीय अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सूचना आदानप्रदान र प्रविधि सहकार्यलाई तीव्र बनाइएको उल्लेख गरे।

प्रहरी कर्मचारीको सेवा–सुविधातर्फ आवास, स्वास्थ्य तथा जोखिम भत्ताको दायरा फराकिलो बनाउँदै लगिएको स्पष्ट पार्दै भदौमा आएको भीषण बाढीपहिरो तथा प्राकृतिक विपद्मा अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मीलाई खाजा तथा जोखिम भत्ता उपलब्ध गराइएको जानकारी उनले दिए। आगामी दिनमा अवकाशप्राप्त प्रहरीको ज्ञान, सीप र अनुभवलाई समेत राष्ट्रहितमा सदुपयोग गर्ने नीति ल्याइने गृहमन्त्री गुरुङले बताए।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय