शुभ दीपावलीको अवसर पारेर महोत्तरीको बर्दिबास नगरपालिका–४ स्थित ऐतिहासिक धार्मिक तथा पर्यटकीयस्थल पञ्चधुरा माई मन्दिर परिसरमा रहेको प्राकृतिक मूलको सरसफाइ अभियानलाई निरन्तरता दिइएको छ।

बर्दिबास उद्योग वाणिज्य संघको आयोजनामा शुक्रबार सरसफाइ अभियानको दोस्रो चरण सम्पन्न भएको हो। अभियानमा सशस्त्र प्रहरी बल नेपाल नं. ३५ रिजर्भ गण,हेकुवा महोत्तरीले विशेष सहयोग गरेको थियो। सरसफाइमा करिब ३०० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ।

अभियानमा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थासहित स्थानीयवासीले समेत हातेमालो गर्दै आएका छन्। मन्दिरको ऐतिहासिक र धार्मिक पहिचानसँग जोडिएको प्राकृतिक जरुवा मूल केही समयअघि सुकेपछि यसको अस्तित्व नै संकटमा परेको थियो। हालै पुनः मूल पलाएसँगै यसको नियमित सरसफाइ,संरक्षण र संवर्द्धनका लागि स्थानीयस्तरबाट सामूहिक पहल थालिएको हो।

प्राकृतिक सम्पदाको संरक्षणसँगै धार्मिक तथा पर्यटकीय क्षेत्रको आकर्षण बढाउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो। पञ्चधुरा माई मन्दिर परिसरलाई स्वच्छ, सुन्दर र व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सामूहिक सहभागिता र निरन्तर संरक्षण आवश्यक रहेको अभियानले सन्देश दिएको छ।

धार्मिक आस्था, प्राकृतिक सम्पदा र पर्यटकीय सम्भावना बोकेको पञ्चधुरा माई मन्दिरको संरक्षणमा समुदायको सक्रियता बढ्दै जानुलाई स्थानीयस्तरमा सकारात्मक पहलका रूपमा हेरिएको छ।

जहाँ पञ्चदेवी देवी, कमलामाई, छिन्नमस्ता भगवती,वनदेवी, राजदेवी र महाकाल माई विराजमान छिन्। यो नेपाल र भारतका भक्तजनका लागि महत्त्वपूर्ण शक्ति पीठ हो। बडा दसैंमा मात्रै होइन,वर्षैंभरि भक्तजनको भीड हुन्छ।

अध्ययनहरूका अनुसार,‘श्री ३ प्रधानमन्त्री जंगबहादुर राणाले १९३३ सालमा सिकार खेल्न मधेश गएका थिए। त्यसक्रममा उनले सेतो बाघ देखेका थिए।’ बन्दुकको निशाना बाघतिर लगाउँदा बाघ पञ्चधुरा मन्दिरमा विलय भएको किंवदन्ती छ। ऐतिहासिक उपन्यासकार डायमण्डशमशेर राणाले लेखेको चर्चित उपन्यास ‘सेतो बाघ’मा यो सन्दर्भ उल्लेख गरिएको पाइन्छ। बुढापाकाका अनुसार, जंगबहादुरले देवीमाथि कुदृष्टि लगाए र माताको श्राप लाग्यो। सर्लाहीको पत्थरकोटमा १९३३ साल फागुन १३ गते उनको मृत्यु भएको इतिहासकार दिनेशराज पन्त बताउँछन्।

ऐतिहासिक, पुरातात्त्विक, धार्मिक, सांस्कृतिक तथा लोकआस्थाको धरोहर पञ्चधुरामाई मन्दिरको शक्तिशाली इतिहास बोकेर पनि वर्तमानमा गुमनाम छ। गर्विलो विगत भए पनि संरक्षण, संवर्द्धन र प्रवर्द्धनको अभावमा बाँसको झ्याङभित्र अझै पञ्चधुरा माई मन्दिर चुपचाप छ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबास चोकभन्दा तीन किलोमिटर पश्चिम दाहिनेतिर मन्दिर जाने प्रवेशद्वार छ। पाँच मिनेट उत्तर लागेपछि पुगिन्छ, पञ्चधुरा माई मन्दिर। जहाँ नेपाल—भारतका लाखौं भक्तजन आउँछन्। घरमा कोही बिरामी परोस् वा कसैलाई सन्तान चाहियो, भाकल गर्न मधेसको चर्चित पञ्चधुरा माताको मन्दिरमा पुग्छन् उनीहरू। घरमा नयाँ गाडी भित्रियोस् वा नयाँ सफलता हात परोस्, पूजापाठ गर्न माईस्थान पुग्छन्। खुसी होस् कि दुःख। सबै पुग्ने र गुहार लगाउने साझा थलो हो, पञ्चधुरा। जहाँ पुग्दा दुःखको निवारण, परिवारमा सफलता, शान्ति अनि सुख प्राप्ति हुन्छ भन्ने जनविश्वास छ।

मधेसको महत्त्वपूर्ण शक्तिपीठ पञ्चधुरा माई मन्दिर। यहाँ पञ्चदेवीको बास छ। यसैले मन्दिरको नाम पञ्चधुरा माई रहन गएको जानकार बताउँछन्। माईस्थान वरिपरिका जंगलमा दुई सय वर्षअगाडि मानव जातिको आवतजावत भएको  प्रसंग पञ्चधुरा मन्दिरसँग जोडिएको छ। भित्री मधेस काठ लिन चुरे क्षेत्रका जंगल आउँथे, बन्दोबस्तीसहित बयलगाडीमा। महोत्तरीको बिजलपुरा, हात्तीलेट, सोनमा, सम्सी, रामगोपालपुर, बलवा, सरपल्लोका बटुवाहरूले नै मन्दिरको नामकरण गरेका थिए। त्यो समयमा यहाँ विशाल सखुवा, आसनलगायत परजातिका रुखहरू थिए। घर बनाउन काठ लिन मानिस आउँथे।

बर्दिबासस्थित भब्सी र जंघा नदीको बीचमा पर्छ,पञ्चधुरा। दुई सयवर्ष यता मानवीय गतिविधि भएको पाइन्छ। मन्दिरको दक्षिणबाट २०३० सालतिर पूर्व–पश्चिम राजमार्ग विस्तार भयो। जसले मन्दिरको पहुँच सहज बनाइदियो। बर्सौंअघि भब्सी र जंघा नदी वरिपरिका गज्जबका कहानी छन्। जंगबहादुरको नामबाटै जंघा नदीको नामकरण भएको मन्दिर संरक्षण समितिका पूर्वसचिव सोमबहादुर कार्की सुनाउँछन्।

पञ्चधुरा ऐतिहासिक महत्त्व बोकेको  स्थान हो। देवीको मन्दिर यति चर्चित हुँदाहुँदै ओझेलमा छ। गुमनाम जस्तै छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय