स्याङ्जा जिल्ला प्रशासनले देउसी–भैलो खेल्ने समयसीमा रातको १० बजेसम्मकालागि तोकेको छ। चाडपर्वलाई व्यवस्थित र मर्यादित बनाउन प्रशासनले देउसी–भैलोलगायतका अन्य सांस्कृतिक कार्यक्रम १० बजेसम्म मात्र सञ्चालन गर्न एक सूचनामार्फत प्रशासनले सूचित गराएको हो।
नेपालीहरूको महान् चाडपर्वको अवसरमा शान्ति,सुरक्षा र सामाजिक सद्भाव कायम राख्दै चाडपर्व मनाउन जिल्लावासीलाई आग्रह गरेको छ। चाडपर्वका समयमा हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न तथा धार्मिक, सांस्कृतिक र सामाजिक मर्यादा कायम राख्न सबैमा अनुरोध गरेको छ।
प्रशासनले चाडपर्व मनाउने क्रममा पटका तथा आतसबाजीको प्रयोग नगर्न,जुवातास तथा गैरकानुनी गतिविधिबाट टाढा रहन,मादक पदार्थ सेवन गरी सवारीसाधन नचलाउन र ध्वनि प्रदूषण हुने गतिविधि नगर्न आग्रह गरेको छ।
देउसी–भैलोजस्ता सांस्कृतिक कार्यक्रमलाई मर्यादित र व्यवस्थित बनाउन,सार्वजनिक शान्ति तथा सुरक्षामा असर पर्ने गतिविधि नगर्न र प्रचलित कानुनको पूर्ण पालना गर्न सूचनामार्फत अनुरोध गरिएको छ।
प्रशासनले सबैमा आपसी सद्भाव, भाइचारा र सामाजिक एकता कायम राख्दै चाडपर्व मनाउन अनुरोध गरेको छ। तिहारमा हुन सक्ने विकृति र आपराधिक गतिविधि नियन्त्रण गर्न प्रशासनले पटका, भुइँचम्पा, रकेट, आतसबाजीजस्ता विस्फोटक पदार्थको अवैध आयात, ओसारपसार, बिक्रीवितरण र प्रयोग नगर्न सचेत गराएको छ।
सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, झैझगडा गर्ने, भीडभाड र हुलहुज्जत गरी अशान्ति फैलाउने गतिविधि नगर्न पनि भनिएको छ। तिहार तथा दीपावलीका अवसरमा जुवातास, कौडा, लङगुरबुर्जा लगायत पैसाको हारजित हुने खेल नखेल्न र नखेलाउन प्रशासनले आग्रह गरेको छ।
चाडपर्वको मौका छोपेर बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, सामान जम्माखोरी गर्ने, कालोबजारी गर्ने र अस्वाभाविक मूल्यवृद्धि गर्ने कार्य नगर्न व्यापारीलाई सचेत गराइएको छ। म्याद गुज्रिएका भाइ मसला तथा अन्य उपभोग्य वस्तुको खरिदबिक्री नगर्न पनि प्रशासनले अनुरोध गरेको छ।
यातायाततर्फ सवारीसाधनको छतमा बसेर वा झुण्डिएर यात्रा नगर्न तथा क्षमताभन्दा बढी यात्रु नबोक्न भनिएको छ। लामो तथा छोटो दूरीका सार्वजनिक सवारीले यात्रुसँग बढी भाडा असुल्ने, दुव्र्यवहार गर्ने वा क्षमताभन्दा बढी यात्रु राख्ने गरेको पाइए प्रहरी कन्ट्रोल नम्बर १०० मा जानकारी गराउन भनिएको छ।
दीपावलीका बेला बिजुली र मैनबत्ती प्रयोग गर्दा सावधानी अपनाउन तथा परिवारसहित घर छाडेर बाहिर जानुपरे घरको सुरक्षाको पर्याप्त व्यवस्था मिलाउन प्रशासनले अनुरोध गरेको छ। यात्रा गर्दा बहुमूल्य गरगहना प्रयोगमा पनि सावधानी अपनाउन भनिएको छ।
प्रशासनले तिहारको मौलिक संस्कृति जोगाउँदै सामाजिक सद्भाव, शान्ति सुरक्षा र सार्वजनिक मर्यादा कायम राख्न जिल्लावासीसँग सहयोगको अपेक्षा गरेकोे छ। चाडपर्वलाई सभ्य, सुरक्षित, व्यवस्थित र उल्लासमय बनाउन प्रशासनले राजनीतिक दल, नागरिक समाज, युवा क्लब, विभिन्न संघसंस्था, सञ्चारकर्मी तथा सम्पूर्ण जिल्लावासीको सहयोग आवश्यक रहेको सूचनामा उल्लेख छ।
सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलद्धारा जारी सूचनामा कानुनविपरीतका गतिविधि गरेमा प्रचलित ऐन कानुन बमोजिम कारबाही गरिने जनाइएको छ।








