-Ramesh Lamichhane

गाउँ हाम्रो पहिचान हो, संस्कृति हो, पुर्ख्यौली सम्पत्ति हो र हाम्रो भविष्यको आधार पनि हो। कुनै समय गाउँका घरआँगन मानिसहरूको चहलपहलले भरिएका हुन्थे। चाडपर्वले गाउँलाई जीवन्त बनाउँथे। तर आज समय फेरिएको छ, छोप्राकको अवस्था पनि बदलिएको छ। गाउँमा मानिसहरूको संख्या घट्दै गएको छ। युवाहरू वैदेशिक रोजगारीमा जान थालेका छन् भने बालबच्चाको शिक्षा र पारिवारिक सुविधाका लागि धेरै परिवार सहरमा बस्न थालेका छन्। फलस्वरूप गाउँघर र खेतबारी क्रमशः सुनसान बन्दै गएका छन्।

कुनै समय दशैँतिहारको आसपास खेतबारीमा खेतीपाती गर्ने किसानहरूको व्यस्तता देखिन्थ्यो। रोपाइँ, कटाइँ, मेलापात र भारी बोक्ने काममा गाउँलेहरू एकअर्कालाई सघाउँथे। धान, मकै र कोदो फल्ने उर्वर जमिन आज युवा जनशक्तिको अभावमा बाँझो बन्दै गएको छ। कतिपय घरमा ताला लागेको छ भने गाउँमै रहेका वृद्ध आमाबुवा एक्लै जीवन बिताउन बाध्य छन्।

यो केवल छोप्राक र सिरानचोकको मात्र समस्या होइन। आज देशका धेरै नेपाली गाउँले भोगिरहेको गम्भीर चुनौती हो।

हामीले गाउँ किन छोडिरहेका छौँ ? के गाउँमा सम्भावना नै छैन ? कि गाउँमै बसेर सम्मानजनक आम्दानी गर्न सकिने वातावरण बनाउन हामी र हाम्रो स्थानीय सरकार चुकेका छौँ ?

एकातिर युवाहरू आफ्नो परिवारको भविष्य उज्ज्वल बनाउने सपना बोकेर विदेश जान बाध्य छन् भने अर्कोतिर गाउँमा रहेका वृद्धवृद्धाले चाहेर पनि पहिलेझैँ खेतीपाती गर्न सक्ने अवस्था छैन। पुस्तौँदेखि जोतभोग हुँदै आएको खेतबारी बाँझो बन्दै जानु र गाउँका घरहरू रित्तिँदै जानु सामान्य विषय होइन। कृषि, पशुपालन, पर्यटन र स्थानीय उत्पादनमार्फत गाउँमै रोजगारी सिर्जना गर्ने सम्भावना अझै छन्। तर त्यसका लागि उचित योजना, लगानी र स्थानीय सरकारको प्रभावकारी पहल आवश्यक छ।

सबैलाई जीवन दिएको छोप्राक आज आफैँ बुढो हुँदै गएको छ। हिजो धेरै पुस्तालाई हुर्काएको र भविष्य दिएको छोप्राक आज आफ्नै भविष्यको प्रतीक्षामा छ। हिजो धान, मकै र कोदो फल्ने खेतबारी फेरि कसैले जोतिदेला, मलजल गर्ला र हराभरा बनाइदेला भन्ने आशामा छन्।

छोप्राक आज विदेशिएका युवाहरू फर्किएलान् कि, हजुरबुबाको सम्पत्ति सम्झेर नाति फर्किएला कि, बाबुआमाले जोडेको सम्पत्ति र आफू जन्मिएको माटोको माया सम्झेर छोरा फर्किएला कि भन्ने प्रतीक्षामा छ। आफू जन्मिएको र हुर्किएको माइतीथलो सम्झेर छोरी, ज्वाइँ र नातिनातिना गाउँ घुम्न र आफ्नो पुर्ख्यौली थलो हेर्न आउलान् कि भन्ने आशा पनि छोप्राकले बोकेको छ।

हामी जहाँ पुगे पनि हाम्रो जरा गाउँमै छ। गाउँ फर्किनु भनेको केवल केही दिन घुम्न आउनु मात्र होइन, आफ्नो जन्मभूमिको सम्भावना पहिचान गर्नु, पुर्ख्यौली सम्पत्तिको संरक्षण गर्नु र गाउँको भविष्य निर्माणमा योगदान दिनु पनि हो।

हिजो हामीलाई हुर्काएको छोप्राक आज आफैँलाई कसले र कहिले हुर्काउने भन्ने प्रतीक्षामा छ। अब कहिले आउँछ छोप्राकको पालो ?

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय