काठमाडौं । खेलकुद पूर्वाधार विकास, रंगशाला निर्माण तथा स्तरोन्नति र ‘होम एन्ड अवे’ प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने विषयमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा छलफल भएको छ।

सोमबार सिंहदरबारस्थित मन्त्रालयमा सम्पन्न बैठकमा रंगशाला निर्माणको लगानी मोडेल, लिज प्रक्रिया र प्राविधिक मापदण्डका विषयमा छलफल गरिएको हो।

बैठकमा सरकारले सीमित बजेटबाट मैदान सम्याउनेलगायत आधारभूत पूर्वाधार तयार गरी सर्तसहित लिजमा दिने वा निजी क्षेत्रलाई जग्गा लिजमा उपलब्ध गराएर सम्पूर्ण निर्माणको जिम्मेवारी दिने विकल्पबारे विमर्श भएको थियो।

छलफलमा मन्त्री पोखरेलले सरकार र निजी क्षेत्रबीचको साझेदारीबाट खेलकुद पूर्वाधार विकासलाई गति दिन सकिने बताए। सरकारले आधारभूत पूर्वाधार तयार गरेर सरोकारवाला पक्षलाई लिजमा उपलब्ध गराउन सक्ने उनको भनाइ थियो।

मन्त्री पोखरेलका अनुसार फाप्ला रंगशालाको टेन्डर प्रक्रिया अघि बढिसकेको छ। यसै साता नेपाल प्रिमियर लिग (एनपीएल) का सम्बन्धित टोलीका सञ्चालकहरूसँग छलफल गरी उनीहरूको आवश्यकता बुझेर लिज सम्झौताको प्रक्रिया अघि बढाउने तयारी छ।

बैठकमा एनपीएलको छैटौँ संस्करणसम्म प्रतियोगिता ‘होम एन्ड अवे’ ढाँचामा सञ्चालन गर्ने लक्ष्यका व्यावहारिक तथा प्राविधिक पक्षबारे पनि समीक्षा गरिएको थियो।

क्रिकेटमा रिभ्यु प्रणालीलगायत प्रविधिको लागत फुटबलको तुलनामा महँगो पर्ने भएकाले आठवटै मैदानमा एकैपटक पूर्ण प्रविधि जडान गर्न चुनौती रहेको बताइएको छ। यद्यपि, ठूला सहरबाट क्रमशः प्रविधि विस्तार गर्दै लैजान सकिने निष्कर्ष निकालिएको छ।

रंगशाला तथा खेलमैदानलाई ठूला प्रतियोगितामा मात्र सीमित नराखी दैनिक अभ्यास, खेल एकेडेमी, स्थानीय लिग तथा ग्रासरुट तहका खेलकुद गतिविधि विस्तारमा समेत प्रयोग गर्नुपर्नेमा बैठकले जोड दिएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय