झापा । नेपालको दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन ‘सिलिगुढी–झापा पेट्रोलियम पाइपलाइन तथा ग्रिनफिल्ड टर्मिनल परियोजना’ को शिलान्यास गरिएको छ।

भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीबाट भर्चुअल माध्यममार्फत रिमोट थिचेर संयुक्त रूपमा परियोजनाको शुभारम्भ गरेका हुन्।

नेपाल र भारत सरकारबीच भएको सरकार–सरकार (जीटुजी) सम्झौताअनुसार भारत सरकारको शतप्रतिशत अनुदान तथा इन्डियन आयल कर्पोरेसन (आईओसी) को प्राविधिक सहयोगमा परियोजना निर्माण हुनेछ। परियोजना प्रमुख सुरेन्द्र महतोका अनुसार यसको अनुमानित लागत करिब १२ अर्ब रुपैयाँ रहेको छ। निर्माण सुरु भएको मितिले ५४ महिनाभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

कुल ४९ दशमलव ६ किलोमिटर लम्बाइ रहने पाइपलाइनमध्ये भारततर्फ ३५ किलोमिटर र नेपालतर्फ १४ दशमलव ६ किलोमिटर पर्नेछ। भारतको सिलिगुढीस्थित आईओसी टर्मिनलबाट सुरु हुने पाइपलाइन मेची पुल नजिकैबाट नेपाल प्रवेश गरी झापाको मेचीनगरका विभिन्न वडा हुँदै चारआलीस्थित प्रस्तावित टर्मिनलमा पुगेर टुङ्गिनेछ।

परियोजनाअन्तर्गत चारआलीमा ३२ हजार ८०० किलोलिटर क्षमताको अत्याधुनिक ग्रिनफिल्ड टर्मिनल निर्माण गरिनेछ। फिल्ड कार्यालयका प्रशासन प्रमुख मनिष न्यौपानेका अनुसार टर्मिनलमा ३२ हजार २०० किलोलिटर डिजेल र ६ हजार ६०० किलोलिटर पेट्रोल भण्डारण गर्ने व्यवस्था रहनेछ।

पाइपलाइन निर्माणका लागि आठ इञ्च व्यासका कार्बन स्टिल पाइप जमिनमुनि कम्तीमा १ दशमलव २ मिटर गहिराइमा बिछ्याइनेछ। चुहावट नियन्त्रण तथा सुरक्षाका लागि अत्याधुनिक स्काडा प्रणाली र फाइबर अप्टिक सेन्सिङ प्रविधि जडान गरिने परियोजनाले जनाएको छ।

त्यस्तै, मेची, निन्दा, हडिया र फुलबासाजस्ता नदी पार गर्दा जलचर तथा नदीको पारिस्थितिक प्रणालीमा असर नपरोस् भनेर होरिजन्टल डिरेक्सनल ड्रिलिङ (एचडीडी) प्रविधि प्रयोग गरिनेछ। यस प्रविधिबाट नदीको सतहभन्दा गहिराइमा पाइप बिछ्याइने भएकाले प्राकृतिक बहावमा अवरोध नपुग्ने जनाइएको छ।

टर्मिनलमा इन्धनको वाष्पलाई पुनः इन्धनमा रूपान्तरण गरी नोक्सानी र वायु प्रदूषण कम गर्न भेपर रिकभरी सिस्टम तथा तेल मिसिएको पानी प्रशोधन गर्न आयल वाटर सेपरेटर पनि जडान गरिनेछ।

नेपाल आयल निगमले यसअघि नै पाइपलाइन मार्ग र भण्डारणस्थलका लागि आवश्यक जग्गा व्यवस्थापन गरेको छ। सरकारले २०७४ सालमै चारआलीमा २३ बिघा ३ कट्ठा १३ धुर जग्गा व्यवस्थापन गरी फिल्ड कार्यालयसमेत सञ्चालनमा ल्याएको थियो। निगमले पूर्वसम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र जग्गा व्यवस्थापनको प्रारम्भिक काम पूरा गरिसकेको जनाएको छ।

यस परियोजनाको द्विपक्षीय सहमति २०८० जेठमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा भएको थियो। त्यसपछि २०८१ असोजमा नयाँदिल्लीमा नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनबीच निर्माणसम्बन्धी औपचारिक सम्झौतामा हस्ताक्षर भएको थियो।

परियोजना सम्पन्न भएपछि नेपालमा पेट्रोलियम पदार्थको आपूर्ति तथा भण्डारण व्यवस्थापनलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय