काठमाडौं । टीकापुर हत्याकाण्डको मुद्दामा तीन तहकै अदालतबाट दोषी ठहर भई जन्मकैदको सजाय पाएका रेशम चौधरीलाई आममाफी दिने तत्कालीन सरकारको निर्णय विरुद्ध परेको रिटमा सुनुवाइका लागि पेसी तोकिएको छे।
सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नृपध्वज निरौलाको संयुक्त इजलासमा पेसी तोकिएको हो । साढे दुई वर्षदेखि सुनुवाइ हुन नसकेको रेशमको माफी विरुद्धको रिट अग्राधिकारमा राखेर सुनुवाइका लागि पेसी तोकिएको छ ।
रेशमले माफी पाएको भोलिपल्ट अर्थात् २०८० जेठ १६ गते टीकापुर हत्याकाण्डमा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी श्रीमती शारदा कडायतले सर्वोच्च अदालतमा सरकारको निर्णयविरुद्ध रिट हालेकी थिइन् । उक्त मुद्दामा २०८० जेठ २३ गते न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले कारण देखाऊ आदेशसहित अग्राधिकार दिएको थियो ।






