६ भदौ, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले तीन वर्षीया गरिमा चौधरीको हत्या प्रकरणमा नागरिकको खबरदारी स्वाभाविक भए पनि अनुसन्धान प्रक्रियालाई निष्पक्ष रूपमा अघि बढ्न दिन आग्रह गरेका छन्। गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमार्फत सरकारका काममाथि प्रश्न उठाउने, कमजोरी औँल्याउने र आवश्यक खबरदारी गर्ने अधिकार नागरिकसँग रहेको बताएका छन्। तर, घटनाको अनुसन्धान प्रभावित नहुने गरी सम्बन्धित निकायलाई आफ्नो जिम्मेवारी पूरा गर्न दिनुपर्ने उनको भनाइ छ। उनले गरिमा चौधरी हत्या प्रकरणमा दोषीमाथि कानुनअनुसार कडा कारबाही सुनिश्चित गर्नुका साथै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक कानुनी तथा संस्थागत सुधारमा सरकार केन्द्रित रहेको उल्लेख गरेका छन्। गृहमन्त्री गुरुङका अनुसार सरकारको उद्देश्य एउटा घटनाका दोषीलाई कारबाही गर्नेमा मात्र सीमित छैन। बालबालिका तथा विशेषगरी छोरीहरू सुरक्षित रूपमा बाँच्न सक्ने वातावरण निर्माण गर्नु पनि सरकारको प्रमुख जिम्मेवारी हो। उनले घटनालाई संवेदनशील रूपमा लिएर विगतका अनुसन्धानका अनुभव तथा कमजोरीबाट पाठ सिक्दै अनुसन्धान अघि बढाइएको बताएका छन्। साथै, घटनामा कानुनले प्रदान गर्ने अधिकतम न्याय दिलाउने प्रतिबद्धता व्यक्त गर्दै उनले नागरिकको आक्रोशलाई न्याय प्राप्तिको अभियानमा रूपान्तरण गर्न आग्रह गरेका छन्। गरिमा चौधरी हत्या प्रकरणमा अनुसन्धान निष्पक्ष, प्रभावकारी र तथ्यमा आधारित बनाउन सरकार गम्भीर रहेको गृहमन्त्रीको भनाइ छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय