काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री विक्रम तिमल्सिनाले बलात्कार तथा यौन हिंसाका घटनामा पीडितको पहिचान खुल्ने तस्बिर, भिडियो वा अन्य सामग्री प्रकाशन तथा प्रसारण नगर्न सञ्चारमाध्यम, पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत आइतबार अपिल जारी गर्दै मन्त्री तिमल्सिनाले यौन हिंसाका पीडित बालबालिकाको पहिचान सार्वजनिक गर्नु झनै गम्भीर विषय भएको उल्लेख गरेका हुन्।उनले समाचार तथा सामग्री सम्प्रेषण गर्दा पीडितको गरिमा, गोपनीयता, सुरक्षा र भविष्यमा पर्न सक्ने प्रभावलाई विशेष ध्यान दिनुपर्ने बताएका छन्। यस्तो अभ्यास नेपालको विद्यमान कानुनी व्यवस्था, पत्रकारिता आचारसंहिता, अन्तर्राष्ट्रिय मानवअधिकार तथा जिम्मेवार पत्रकारिताको स्थापित मान्यतासमेत भएको उनले उल्लेख गरेका छन्।’पीडितको पहिचान र गोपनीयताको सम्मान गरौँ, अपराधमाथि अर्को अपराध नगरौँ,’ मन्त्री तिमल्सिनाले भनेका छन्।उनले सञ्चारमाध्यम, पत्रकार, सञ्चारकर्मी तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई पीडितको पहिचान खुल्ने तस्बिर, भिडियो वा अन्य सामग्री प्रकाशन, प्रसारण वा पुनःप्रसारण नगर्न आग्रह गरेका छन्।
यसअघि नै त्यस्ता सामग्री प्रकाशित भइसकेको भए तत्काल हटाउनसमेत उनले आग्रह गरेका छन्।
अपराधका घटना सार्वजनिक गर्नु आवश्यक भए पनि समाचार सम्प्रेषणका क्रममा पीडितको अधिकार, गरिमा र गोपनीयताको मूल्य बिर्सन नहुने मन्त्री तिमल्सिनाको भनाइ छ।
पीडितको पहिचान नखुलाउनु कानुनी दायित्व मात्र नभई सामाजिक जिम्मेवारी, मानवीय संवेदना र सभ्य समाजप्रतिको प्रतिबद्धतासमेत भएको उनले बताएका छन्।






