काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष किसान सुनारको नेतृत्वमा ३४ सदस्यीय प्रतिनिधिमण्डल जापान प्रस्थान गरेको छ। जापानको इन्फोर्मा मार्केट्स जापान कम्पनी लिमिटेड तथा जापान ज्वेलरी एसोसिएसनको संयुक्त आयोजनामा टोक्योमा यही भदौ १० देखि १२ गतेसम्म आयोजना हुने Japan Jewellery Fair (JJF)–2026 मा सहभागिता तथा अवलोकनका लागि प्रतिनिधिमण्डल जापान गएको हो।
जापान भ्रमणका क्रममा प्रतिनिधिमण्डलले जापान ज्वेलरी एसोसिएसन तथा इन्फोर्मा मार्केट्स जापानका पदाधिकारीहरूसँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको छ। भेटवार्तामा नेपाल र जापानका रत्न तथा आभूषण उद्योगबीच आपसी सहयोग, ज्ञान तथा प्रविधि आदान–प्रदान, व्यापार तथा व्यावसायिक सहकार्यका विषयमा छलफल हुने बताइएको छ।
महासंघले नेपाली गरगहना उद्योगको स्तरोन्नति तथा अन्तर्राष्ट्रियकरणका लागि जापानका सम्बन्धित संस्थाहरूसँग सहकार्य गर्दै उच्च प्रविधि तथा प्राविधिक ज्ञान हस्तान्तरण, व्यापार तथा लगानी प्रवद्र्धन, अन्तर्राष्ट्रिय बजार पहुँच विस्तार, व्यावसायिक अवसर सिर्जना तथा सीप विकास र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारेको छ।
त्यस्तै, रत्न तथा आभूषण उद्योगको दिगो विकास र अन्तर्राष्ट्रिय प्रवद्र्धनका लागि संयुक्त प्रदर्शनी, कार्यक्रम तथा परियोजना सञ्चालन गर्ने विषयमा समेत सहकार्य हुने महासंघले जनाएको छ।
भ्रमणका क्रममा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र जापान ज्वेलरी एसोसिएसनबीच आपसी सहयोग तथा सहकार्यसम्बन्धी समझदारी–पत्र (MOU) मा हस्ताक्षर गर्ने कार्यक्रमसमेत रहेको छ। उक्त समझदारीपछि दुवै देशका रत्न तथा आभूषण उद्योगबीच ज्ञान, प्रविधि, सीप, व्यापार, लगानी तथा व्यावसायिक अवसरको आदान–प्रदान थप संस्थागत हुने अपेक्षा गरिएको छ।
यसैगरी, प्रतिनिधिमण्डलले जापानस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत हरिहरकान्त पौडेल तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका अध्यक्ष सुवास लामिछानेसहित अन्य पदाधिकारीहरूसँग पनि भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको छ।
प्रतिनिधिमण्डलमा महासंघका सचिव केशरबहादुर विश्वकर्मा, कार्यसमिति सदस्यहरू सूर्य बराल र दाना हमाल, कार्यालय प्रमुख राम महर्जन तथा महासंघमा आबद्ध सदस्य संस्थाका प्रतिनिधि तथा व्यवसायीहरूको सहभागिता रहेको छ।
प्रतिनिधिमण्डलमा इच्छा हर्ष बज्राचार्य, कमला विश्वकर्मा, राधा गुरुङ बराल, सन्देश हमाल, जोखिम तामाङ, प्रलाद मल्ल, हिरालाल वि.क., विष्णु सुनार, दिनेशबाबु विश्वकर्मा, लक्ष्मी घतानी, सालिकराम रसाइली, शिवकुमार विश्वकर्मा, प्रेमबहादुर सुनार, बुद्धिसागर गर्तौला, धनबहादुर बराईली, लक्ष्मी गहतराज, रमेश सुनार, कुमार सुनेल, रुपेश विश्वकर्मा, जयराम खाती, देवेन्द्र शंकर, पूजा थापा, श्याम ल्वागुन सुनार, अनिषा सुनार, भरत वि.क., दिपेन विश्वकर्मा, रुवी अग्रवाल, मनोज पोद्वार र अंकित खड्काथोकी रहेका छन्।
जापान भ्रमणले नेपाली रत्न तथा आभूषण उद्योगलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न, नयाँ प्रविधि तथा सीप भित्र्याउन र नेपाल–जापानबीच व्यावसायिक सम्बन्ध विस्तार गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
भ्रमणसम्बन्धी जानकारी निरञ्जन ज्वेलर्सका प्रोप्राइटर विश्वदीप कालिकोटेले दिएका हुन्।






