काठमाडौं । ऐतिहासिक नाटक ‘वीर गणेशमान’ कालिकास्थानस्थित सर्वनाम थिएटरमा मञ्चन हुने भएको छ । भदौ १४ गतेदेखि असोज १४ गतेसम्म नाटक मञ्चन हुन लागेको हो ।
अशेष मल्लको परिकल्पना, नाट्य रुपान्तरण र निर्देशनमा नाटक तयार भएको हो । गणेशमान फाउन्डेसनको आयोजना तथा सर्वनामको प्रस्तुतिमा नाटक मञ्चन हुन लागेको हो ।निर्देशक मल्लका अनुसार ‘वीर गणेशमान’ कुनै ऐतिहासिक व्यक्तित्वको जीवनीमा आधारित नाटक मात्र नभई निष्ठा, इमानदारी, त्याग र देशप्रतिको समर्पणको कथा हो । ५ दशक लामो नाट्य यात्रामा यस प्रकारको यथार्थपरक नाटक पहिलोपटक गर्न लागेको बताउँदै उनले बिम्ब र प्रतीकसँग खेल्ने आफ्नो नियमित अभ्यासभन्दा यो प्रस्तुति फरक रहेको जानकारी दिए ।
सर्वनामले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव आयोजना गर्नुका साथै नयाँ पुस्ताका रङ्गकर्मीलाई प्रवद्र्धन गर्न नियमित नाटक मञ्चन, कार्यशाला तथा नाट्य प्रशिक्षण सञ्चालन गर्दै आएको छ ।






