काठमाडौँ । एकै मञ्चमा १४ वटा मौलिक तीज गीतको विमोचन गरिएको छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा इन्द्रेणी सांस्कृतिक विकास केन्द्रमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रिता थापा मगरलगायतले २०८३ सालमा तीज पर्व लक्षित निर्माण गरिएका मौलिक गीतहरु सामूहिक रुपमा विमोचन गरेका हुन्।

विमोचित गीतहरु अग्रज सर्जक बसन्त थापादेखि पछिल्लो पुस्ताका रेखा पोखरेलसम्मका थिए। विमोचित गीतहरु प्रकाश पराजुलीको ‘म्वाईं खाँदै’, राधा हमालको ‘भुरुरु आउँथे बरै चरी भए त’, सम्सेर पुनको ‘मन पर्ने मान्छे’, अनमोल बस्नेतको ‘छैन केहि पिर चिन्ता’, बिशाल छेत्रीको ‘ए आमा तिम्रो दुःख’, तारादेव डिसीको ‘नाँच भन्छे मैना’, उमा बिडारीको ‘म कस्ती देखिएँ’, पुजन काफ्लेको ‘तीजको लहर आउँदा बरिलै’, लक्ष्मी पुरी प्रधानको ‘नाच फुरुक्कै’ रहेका छन् ।

त्यस्तै, सुमित्रा कोइरालाको ‘आयो मलाई झलिको माइती देशैको’, शिव राज पौडेलको ‘छोरा बनाइदे’ आइजी दानबहादुर कार्कीको ‘चेलीले माइतीलाई सम्झेर’, सरोज लामिछाने र कमल आचार्यको ‘मनको बेदना’, मोतिराज खनालको ‘कम्मरु भाँचौला’ पनि एकै मञ्चमा विमोचन गरिएको छ । विमोचन पछि बोल्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रिता थापा मगरले मौलिक सृजनाको पक्षमा लोक सञ्चारकर्मी नेपालले गरेको पैरवी प्रसंशायोग्य रहेको बताइन् ।

उनले भनिन्, ‘बरु म मर्दा मलामी आउनु पर्दैन्, विकृतीजन्य गीतको विरुद्धमा बोल्न छाडिदैन् । त्यस कार्यमा लोक सञ्चारकर्मीहरुको गर्विलो साथ मिलेको छ ।’ विशिष्ट अतिथी इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलले आफू जहिले पनि मौलिक सृजनाको पक्षमा रहेको बताए । ‘यो पटकको तीजमा पनि इन्द्रेणीले मौलिक तीज गीतहरुको ७ वटा सिरिज बनाएको छ । जहाँ महिला दिदीवहिनीहरुले मात्रै गीत गाएका छन्’ सञ्चारकर्मी कँडेलले भने ।

लोक सञ्चारकर्मी नेपालका संस्थापक अध्यक्ष गोविन्द गिरीले मौलिक सृजनालाई लोक सञ्चारकर्मीहरुले स्थान दिदै आएको बताए । वरिष्ठ गायिका सिता थापा, गायक तथा सर्जक बसन्त थापा, गायक प्रकाश पराजुली, गायक सरोज लामिछाने, म्यूजिक भिडियो निर्देशक समाज अध्यक्ष बविता श्रेष्ठ, राष्ट्रिय संगीतककर्मी संघको वरिष्ठ उपाध्यक्ष उमा श्रेष्ठ, गायक सम्सेर पुन, गायिका लक्ष्मी पुरी प्रधान, गायक निशान बानियाँ, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सदस्य तथा निर्देशक प्रकाश भट्ट, अर्को निर्देशक शिवम पोखरेल, गायिका सुमुत्रा कोईराला, रेखा पोखरेल लगायतका कलाकारहरुले मन्तव्य राख्दै मौलिक गीतहरुको सामूहिक विमोचन गर्ने संस्कारको खुलेर प्रसंशा गर्दै मौलिक गीतहरुको प्रचारमा सञ्चारकर्मीहरुको खुलेर साथ नपाएको गुनासो गरे ।

कार्यक्रममा वरिष्ठ गायिका दुर्गा गुरुङ लगायतको पनि उपस्थिती रहेको थियो । विमोचनकै अवसरमा प्राज्ञ तथा वरिष्ठ लोक गायिका टिका पुनलाई ‘मौलिक गायन सम्मान’प्रदान गरिएको छ । मौलिक गीत गायनका माध्यमबाट लोक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै गायिका पुनलाई नगद ५ हजार ५५५ रुपैयाँ सहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो । सम्मान ग्रहणपछि बोल्दै वरिष्ठ गायिका पुनले मौलिक गीतले आत्मसन्तुष्टि र सम्मान पाएको बताइन् ।

उनले भनिन्, ‘आज मैले गाएका गीतहरु स्कुल, कलेज लगायतका सार्वजनिक स्थानमा बज्दा निकै खुसी हुन्छु । सामाजिक सञ्जालमा भ्यूज कमाएका गीतहरु खुलेर सार्वजनिक कार्यक्रममा बजाउन नसकिदो रहेछ । त्यसकारण पनि मौलिक गायन यात्रा ठिक छ भन्ने पक्षमा छु ।’

लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतमले विश्वास गरेर सामूहिक विमोचनमा सहकार्य गरेका सम्पुर्ण कलाकार, निर्माता, निर्देशकहरुलाई धन्यवाद दिए।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय