गत साताको अविरल वर्षा र बाढीपहिरोका कारण कास्कीको पर्यटकीय क्षेत्र बीरेठाँटी क्षतविक्षत भयो । बाढीपहिरोका कारण अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ८, ९, १० र ११ का सडक तथा अन्य भौतिक संरचनामा बढी क्षति पुगेको छ ।

सडक पूर्ण रूपमा अवरुद्ध हुँदा घान्द्रुकवासी र यस क्षेत्रमा आउने पर्यटकहरू मर्कामा परेका छन् । सडक नहुँदा स्थानीयको दैनिक आवागमन ठप्प भएको छ भने पर्यटन व्यवसायमा पनि असर परेको छ । हाल घान्द्रुकका बासिन्दालाई आवतजावतका लागिसमेत सहज पैदल बाटो उपलब्ध छैन ।विभिन्न ठाउँमा ८ सय मिटरभन्दा बढी सडकको ट्र्याक नामोनिसानै नरहने गरी बगायो । केही घर जोखिममा परे भने जोखिम अझै घटेको छैन । अन्नपूर्ण गाउँपालिकाले घान्द्रुक जाने सडक निर्माण सहयोग उठाएर पुनः निर्माण सुरु गरेको छ । प्रदेश सरकार, छिमेकी पालिका, सुरक्षा निकाय र विभिन्न व्यक्तिहरूले समेत आर्थिक सहयोग गरिरहेका छन् । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीका अनुसार सडकको अस्थायी तथा स्थायी पुनर्निर्माणका लागि झन्डै १० करोड लाग्ने प्रारम्भिक अनुमान छ । ठुलो रकम खर्च हुने भएकोले गाउँपालिका एक्लैले बेहोर्न नसक्ने उनले बताए । ‘हाम्रो पालिकासँग ठुलो बजेट छैन । अहिले जनता दुखमा परेका छन्,’ उनले भने, ‘हामीले सबै पक्षलाई विपद्मा सहयोग गर्न आह्वान गयौं । क्युआर कोडसमेत बनाएर सहयोग मागेका छौं ।’ सर्वसाधारण नागरिकहरूले सकेको सहयोग गरिरहेका छन् । सडक निर्माणका लागि गाउँपालिकाले आफ्नो आकस्मिक कोषबाट ५० लाख खर्च गर्दैछ । बाह्य स्रोतबाट करिब डेढ करोड रुपैयाँ जुटाउने लक्ष्य राखिएको उनले सुनाए । छिमेकी स्थानीय सरकारहरू माछापुच्छ्रे, मादी र रुपा गाउँपालिकाले ५/५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । करिब २ सय मिटर सडकखण्ड पूर्ण रूपमा बगाएकाले पुरानो ट्र्याक काम नलाग्ने भएको छ । करिब ३ सय मिटरको नयाँ ट्र्याक खन्नुपर्ने बाध्यता सिर्जना भएको छ । यसका अतिरिक्त स्याउली बजार नजिकै थप ५०–६० मिटर सडक क्षतिग्रस्त बनेको छ ।‘सडक बगेको ठाउँमा नयाँ ट्र्याक खोल्न जग्गाधनीहरूसँग समन्वय गरी जग्गा खोजी गरेका छौं । यो प्रक्रिया अघि बढिसकेको छ,’ अध्यक्ष केसीले भने, ‘अवरुद्ध सडक खुलाउन उपल्लो मोदीखोला जलविद्युत् कम्पनीले एक्साभेटर मेसिन उपलब्ध गराएको छ । इन्धन, मेसिन र कामदारको खर्च गाउँपालिकाले बेहोर्ने गरी काम तीव्र पारेका छौं ।’

सोमबार नै क्षमापुजा गरेर सडक निर्माणको काम सुरु भइसकेको छ । क्षतिग्रस्त सडक मर्मतका लागि गण्डकी प्रदेश सरकारले प्रारम्भिक चरणमा २ सय २२ थान ग्याबिन जाली उपलब्ध गराएको छ । प्राविधिक अनुमान अनुसार करिब ५ सय थान ग्याबिन जाली आवश्यक पर्ने पालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी बरालले जानकारी दिए ।

ग्याबिन जाली भर्ने र श्रमदानको काममा नेपाली सेनाले सघाएको छ । ‘पहिलो दिन ६० भन्दा बढी जना सैनिक जवानहरू फिल्डमा खटिनुभएको छ । दैनिक १ सय जनासम्म परिचालन गर्ने प्रतिबद्धता सेनाले जनाएको छ,’ उनले भने, ‘ग्याबिन जाली भर्ने काम सेनाले गर्नेछ । खाजा र अन्य खर्चको जोहो पालिका आफै गर्छ ।’

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले २० लाख रुपैयाँ उपलब्ध गराएको छ भने तमु धीं नेपालले पनि ३ लाख सहयोग गरेको छ । १० देखि १२ दिनभित्र अस्थायी रूपमै भए पनि सडक सुचारु गर्ने लक्ष्य राखेको छ । सडक पूर्ण रुपमा सञ्चालनमा आउन ठुलो रकम खर्च हुने भएकोले हातेमालो गर्न उनले सबैसँग आग्रह पनि गरेका छन् ।

‘यो बाटो स्थानीय जनता र पर्यटन दुवैका लागि लाइफलाइन भएकाले यहाँका होटल व्यवसायीहरूले पनि संकटको यो घडीमा थप दायित्व महसुस गरी सहयोग गर्नुहुनेछ भन्ने विश्वास छ,’ अघि भने, ‘उहाँहरूले सहयोग संकलन गरिरहनुभएको छ भन्ने सुनिएको छ ।’संघबाट पनि सहयोग आवश्यक भएको पालिकाको अपेक्षा छ । प्रधानमन्त्री बालेन्द्र शाह यही नजिकैको बाटो भएर मुस्ताङ भ्रमणमा निस्किएका थिए । ‘यहाँका पार्टीका साथीहरूले प्रधानमन्त्रीज्यूलाई त्यो ठाउँ पुर्‍याउनुहुन्छ भन्ने सोचेका थियौं । यत्रो विपद्मा हुँदा प्रधानमन्त्रीज्यूले संघ सरकारबाट सहयोगको प्रतिबद्धता जनाउनुहोला भन्ने कल्पना थियो,’ पालिका अध्यक्ष भन्छन्, ‘न प्रधानमन्त्रीज्यू आउनुभयो, न संघले पैसा दिने छाँटकाट गरेको छ ।’ गाउँपालिकाले पहिले यातायात सुचारु गर्ने, त्यसपछि मात्र दीर्घकालीन पुनर्निर्माणतर्फ लाग्ने जनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय