दक्षिण भारतीय स्टार यश अभिनीत ‘टक्सिक : अ फेयरी टेल फर ग्रोन-अप्स’ ले रिलिजअघि नै अग्रिम बुकिङमा बलियो सुरुवात गरेको छ । गीतु मोहनदास निर्देशित यो पिरियड ग्याङ्स्टर एक्सन थ्रिलर बुधबारदेखि प्रदर्शन तयारीमा छ ।
रिलिज हुन अझै दुई दिन बाँकी रहँदा ७२ घण्टामै फिल्मका ६ लाख ४१ हजार ८७४ टिकट बिक्री भइसकेका छन् ।
ट्रेड विश्लेषकले आगामी दुई दिनमा भारत र विदेशको अग्रिम बुकिङबाट मात्रै फिल्मले १०० करोडदेखि १२० करोड भारतीय रुपैयाँसम्म ग्रस कमाइ गर्न सक्ने अनुमान गरेका छन् । सोमबार बिहान ११ बजेसम्म ‘टक्सिक’ले अग्रिम बुकिङमा ‘पठान’ र ‘एनिमल’लाई उछिनिसकेको छ ।
यो फिल्मको मूल कन्नड भाषा र हिन्दी डब संस्करण दुवैमा दर्शकको बलियो चासो देखिएको छ । ‘टक्सिक’को अग्रिम बुकिङ २१ अगस्टदेखि सुरु भएको थियो । सोमबार बिहान ११ बजेसम्म आइम्याक्स र फोरडी फम्र्याटमा कन्नड संस्करणको ११.९२ करोड भारतीय रुपैयाँको ग्रस अग्रिम बुकिङ भएको छ भने हिन्दी संस्करणको अग्रिम टिकट बिक्री ११.५७ करोड भारु पुगेको छ ।
बजेट ८०० करोडदेखि १,००० करोड भारतीय रुपैयाँबीच रहेको बताइएको छ । यस्तो अवस्थामा अग्रिम बुकिङबाट भइरहेको कमाइ फिल्मका लागि महत्वपूर्ण रहेको स्रोत समाचारमा उल्लेख छ ।
स्याकनिल्कको रिपोर्टअनुसार ‘टक्सिक’ले ब्लक सिटबाहेक प्रत्यक्ष टिकट बिक्रीबाटै कन्नड, हिन्दी, तेलुगु, तमिल र मलयालम भाषाको अग्रिम बुकिङमार्फत २४.३५ करोड भारु ग्रस कमाइ गरिसकेको छ । ब्लक सिटसमेत जोड्दा यो आँकडा ३२.९२ करोड भारु पुगेको छ ।
देशभर हाल ट्रयाक गरिएका १४ हजार १५२ शोका लागि टिकट बुकिङ भइरहेको छ । आगामी दुई दिनमा शोको संख्या बढ्नुका साथै टिकट बिक्री पनि तीव्र हुने अपेक्षा गरिएको छ ।
भारतमा अग्रिम बुकिङबाट सर्वाधिक कमाइ गर्ने फिल्मको सूचीमा ‘टक्सिक’ शीर्ष १० मा प्रवेश गरिसकेको छ । यसले शाहरुख खानको ‘पठान’ र रणवीर कपुरको ‘एनिमल’ लाई उछिनेको छ, जबकि फिल्म रिलिज हुन अझै दुई दिन बाँकी छ ।






