काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले बलात्कारी र भ्रष्टाचारीलाई घटनास्थलमै गोली ठोक्ने कानुन लागू गर्न माग गरेका छन्।
प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा बोल्दै सांसद सुनारले बझाङकी सम्झना कामी, कञ्चनपुरकी निर्मला पन्त, कैलालीकी माया कामी, रुपन्देहीकी अङ्गिरा पासी, खोटाङकी रेस्मिका परियार, म्याग्दीकी मिना परियार तथा हालै बाराकी गरिमा चौधरीको बलात्कार र हत्याका घटनाको स्मरण गराएका हुन् ।यस्ता आपराधिक घटनाको फेहरिस्त निकै लामो रहेको उल्लेख गर्दै उनले पीडितको नाम लिएर घटनामाथि लामो बहस गर्नु मात्र पर्याप्त नहुने बताए। सरकारले महिलाको सम्मान, सुरक्षा र बाँच्न पाउने अधिकार सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिएका छन्।‘केही समयपहिला बझाङमा सम्झना कामी, कञ्चनपुरमा निर्मला पन्त, कैलालीमा माया कामी, रुपन्देहीमा अङ्गिरा पासी, खोटाङमा रेस्मिका परियार र म्याग्दीमा मिना परियारको बलात्कारपछि हत्या भयो,’ पूर्वदेखि पश्चिमसम्मका घटनाको सूची प्रस्तुत गर्दै उनले भने, ‘र केहीदिन अघि मात्र गरिमा चौधरीको बलात्कार र हत्या भयो। यो बलात्कार र हत्याको फेहरिस्त धेरै लामो सुनाउन सकिन्छ।’संसद्मा बोल्दै उनले गरिमाको गरिमा जोगाउने र चेलीहरूले निर्धक्क नाच्न तथा बाँच्न पाउने वातावरण बनाउनुपर्ने धारणा राखे। ‘बलात्कारी र भ्रष्टाचारी प्रमाणित भएको खण्डमा अन द स्पट ठोक्ने कानुनको व्यवस्था तत्काल लागू गर्न आह्वान गर्दछु,’ सांसद सुनारले भने। उनले बलात्कार र भ्रष्टाचारजस्ता गम्भीर अपराधमा सरकारले कुनै पनि किसिमको सम्झौता गर्न नहुने स्पष्ट पारे।






