काठमाडौँ । लक्जरी चिनियाँ विद्युतीय सवारी ब्रान्ड ‘स्काईवेल’ नेपाल भित्रिएको छ । एलआरआर मोटर्सले स्काईवेलको बीई११ मोडलका विद्युतीय सवारी नेपाल ल्याएको हो ।
कम्पनीका अनुसार बीई११ का दुई भेरियन्ट नेपाल ल्याइएको छ । यी दुवै भेरियन्टलाई नाडा अटो शो २०२६ को पहिलो दिन भदौ ९ गते औपचारिक रूपमा सार्वजनिक गरिनेछ । सोमबार उत्पादक कम्पनी स्काईवेलका उपाध्यक्षले एलआरआर मोटर्सका प्रतिनिधि, कर्मचारी तथा अटोमोबाइल्स प्रेमीहरूको उपस्थितिमा स्काईवेलको लोगो अनावरण गरेका थिए ।कम्पनीका अनुसार ७१.९८ किलोवाट आवर क्षमताको एनएमसी ब्याट्री प्याकसहितको बीई११ ले एकपटकको पूर्ण चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिनेछ । यस्तै, ५१.९१ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री अप्सनमा आएको बीई११ ले एकपटकको चार्जमा ४१० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ ।डिसी फास्ट चार्जरबाट चार्ज गर्दा यी ईभी ३५ मिनेटमै ७० प्रतिशतसम्म चार्ज हुने कम्पनीले जनाएको छ । दुवै भेरियन्टमा १५० किलोवाट क्षमताको मोटर जडान गरिएको छ । यसमा ८०० भोल्टको हाई–भोल्टेज आर्किटेक्चर रहेको छ, जसले फास्ट चार्जिङलाई सपोर्ट गर्छ ।बीई११ मा पानारोमिक सनरुफ, ३६० डिग्री क्यामेरा, भेन्टिलेटेड सिट, प्रशस्त स्पेस तथा आधुनिक बडी डिजाइन रहेको कम्पनीले जनाएको छ । यसमा १९८ मिलिमिटरको ग्राउण्ड क्लियरेन्स रहेको छ । उच्च ग्राउण्ड क्लियरेन्सका कारण नेपालको जस्तो भौगोलिक अवस्थाका सडकमा पनि सहज रूपमा चलाउन सकिने कम्पनीको दाबी छ ।५ सिट क्षमताको यो ईभीको मूल्य र वारेन्टीलगायतका विषय भने औपचारिक रूपमा सार्वजनिक गर्दा जानकारी गराइने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार बीई११ आक्रामक मूल्यमा बजारमा ल्याइनेछ । नाडा अटो शोमा एलआरआर मोटर्सको स्टल ‘एच१९’ रहेको छ ।






