चीनतर्फबाट त्रिशूली नदीमा पुनः बाढी आउन सक्ने सूचना प्राप्त भएपछि धादिङ प्रशासनले उच्च सतर्कता अपनाएको छ ।
धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमको अध्यक्षतामा बिहीबार राति आपत्कालीन सुरक्षा बैठक बसेर बाढीको जोखिम र सम्भावित क्षतिबारे छलफल गरिएको छ ।
बाढीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रशासनले त्रिशूली नदीको तटीय तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । नदीको जलसतह बढ्न थालेमा तत्काल सुरक्षित स्थानतर्फ सर्न र नदी किनारमा नजानसमेत प्रशासनले अनुरोध गरेको छ ।
प्रशासनले स्थानीय सुरक्षा निकाय तथा सम्बन्धित निकायलाई सम्भावित विपद्को अवस्थाका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।
बाढीपीडित ४७ परिवारलाई गल्छी गाउँपालिकाको १० हजार राहत
बाढीपहिरोबाट निजी घरमा क्षति पुगेका गल्छी गाउँपालिकाका ४७ परिवारलाई गाउँपालिकाले घरमै पुगेर प्रतिपरिवार १० हजार रुपैयाँका दरले राहत वितरण गरेको छ ।
गाउँपालिकाका अनुसार बाढीपहिरोबाट निजी घरमा क्षति पुगेका करिब १५० परिवारको विवरण संकलन भइरहेको छ । क्षतिको यकिन विवरण संकलनका लागि घरघरमा पुग्ने गरी तीनवटा टोली परिचालन गरिएको छ ।
यसैगरी, गाउँपालिकाले ’होल्डिङ सेन्टर’ सञ्चालनमा ल्याएको छ । डल्टार क्याम्पसमा १५ जनाभन्दा बढी विस्थापित नागरिकलाई अस्थायी रूपमा राखिएको छ । उनीहरूका लागि खाने तथा बस्ने व्यवस्था गाउँपालिकाले मिलाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालका अनुसार प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई प्राथमिकतामा राखेर काम भइरहेको छ । उनका अनुसार प्रभावित परिवारको सुरक्षित व्यवस्थापन, राहत वितरण तथा सडक र यातायात सम्पर्क सुचारु गर्नु अहिलेको प्राथमिकता हो ।
रुबीभ्यालीका १५ जना अझै सम्पर्कविहीन
बाढीपछि धादिङको रुबीभ्याली गाउँपालिकाका १५ जना स्थानीय अझै सम्पर्कविहीन रहेका छन्। रुबीभ्याली गाउँपालिकाका वडा नम्बर १, २, ३ र ४ का वडा कार्यालयहरूले छुट्टाछुट्टै सूचना जारी गर्दै रोजगारी, व्यापार, अध्यापन तथा पारिवारिक भेटघाटका लागि रसुवाको टिमुरेलगायत क्षेत्रमा पुगेका आफ्ना नागरिकहरू सम्पर्कमा नरहेको जानकारी दिएका छन्।
वडा कार्यालयहरूले जारी गरेको विवरणअनुसार वडा नम्बर १ का तीन, वडा नम्बर २ का सात, वडा नम्बर ३ का चार र वडा नम्बर ४ का एक जना गरी १५ जना सम्पर्कविहीन छन्।
सम्पर्कविहीन हुनेहरूमा रुबीभ्याली–१ तिप्लिङका मेन्च तामाङ (४५), अन्तरा तामाङ (५२) र सन्तबहादुर घले (५५) रहेका छन्। त्यस्तै, रुबीभ्याली–२ तिन्लोङका सेते कामी (अन्दाजी ५१), आइत लामा तामाङ (अन्दाजी ४९), सोवना तामाङ (१५), समन तामाङ (१३), तिमान तामाङ (११), राकेश घले (२३) र उर्केन थापा तामाङ (७५) सम्पर्कविहीन रहेको वडा कार्यालयले जनाएको छ।
वडा नम्बर ३ सेतुङका हेमान तामाङ टिमुरेमा कामको सिलसिलामा रहेको, हिमान तामाङ नेपाल राष्ट्रिय आधारभूत विद्यालय टिमुरेमा शिक्षकका रूपमा कार्यरत रहेको, कुमार कामी टिमुरे आसपास गाडी चलाउने चालक रहेको र प्रनिशा तामाङको विवाह रसुवामा भएको जनाइएको छ।
त्यस्तै, रुबीभ्याली–४ बोराङका रजु विक (बाबु हर्कबहादुर विक) पनि सम्पर्कविहीन रहेको वडा कार्यालयको विवरणमा उल्लेख छ।
यसैबीच, खनियाबास गाउँपालिका–४ का ल्हसङ तामाङ, राज थोकर र कैलाश थोकर भने बिहीबार साँझ सम्पर्कमा आएका छन्। उनीहरूलाई यसअघि सम्पर्कविहीन भनिएको थियो।
रुबीभ्याली–१, २, ३ र ४ का वडा कार्यालयहरूले सम्पर्कविहीन नागरिकहरूको खोजी तथा उद्धारमा सहयोग गर्न सुरक्षा निकाय, स्थानीय उद्धारकर्मी तथा आम नागरिकलाई आग्रह गरेका छन्। वडा नम्बर ५ र ६ बाट भने हालसम्म आधिकारिक विवरण सार्वजनिक हुन सकेको छैन।






